लुम्बिनी

रुपन्देहीका पत्रकारले बनाए 'कोरोना कोष'

इकागज |
बैशाख ३०, २०७८ बिहीबार १५:८ बजे

बुटवल : नेपाल पत्रकार महासंघ रुपन्देहीले ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा बनाएको छ। कोषमा रुपन्देहीका विभिन्न व्यक्ति, उद्योगी-व्यवसायी, सामाजिक संघसंस्था र विदेशमा रहेका नेपाली तथा पत्रकारिता क्षेत्रका व्यक्तिले रकम उपलब्ध गराएका छन् । कोषमा स्वत स्फूर्त रूपमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेको अध्यक्ष रामराज पोखरेलले जानकारी दिए । कोषमा विभिन्न व्यक्तिबाट ७ लाख ५० हजार रुपैयाँ सहयोग जुटेको छ ।  कतिपयले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 

उनकाअनुसार साढे २ लाख रुपैयाँ पत्रकार महासंघको कोषमा प्राप्त भइसकेको छ । कोरोनाको दोस्रो लहरबाट रुपन्देहीमा समेत पत्रकारहरू संक्रमित हुनेक्रम बढ्दै गएपछि यसले भविष्यमा निम्त्याउने संकटलाई हेरेर कोष स्थापना गरिएको अध्यक्ष पोखरेलले बताए । महासंघ रुपन्देहीको बैशाख २७ गते बसेको अनलाइन बैठकले  उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’ स्थापना गरेको थियो ।
 
कोष स्थापना गरिएको ३ दिनको अवधिमै सोचे भन्दा सहज रूपमा रकम जम्मा भएको महासंघका उपाध्यक्ष तथा कोषका संयोजक विश्वास ढकालले बताए ।  महामारीले पत्रकारिता क्षेत्रमा थुप्रै चुनौती खडा गरेकाले यो पटक रुपन्देहीका पत्रकारलाई केही हदसम्म भए पनि कोषमार्फत काम गर्न खोजेको उपाध्यक्ष अमृता अनमोलले बताइन् । पत्रकारको उपचारमा सरकार तथा विभिन्न अस्पतालसँग समन्वय र सहकार्य गर्ने तथा त्यसपछि पत्रकारहरूलाई पर्ने अप्ठ्यारोमा कोषको रकमलाई प्रयोग गरिने जनाइएको छ । 


दोस्रो लहरबाट रुपन्देहीका २१ जना पत्रकार संक्रमित भएको सचिव विनोद परियारले जानकारी दिए । उनकाअनुसार यसअघि महासंघले रुपन्देहीका सदस्य पत्रकारहरूका लागि विभिन्न संघसंस्थासँग सहकार्यगरी स्वास्थ्य सुरक्षा सामाग्री समेत वितरण गरिसकेको छ । 

कोषमा सहयोग गर्ने व्यक्तिहरूको नाम केही दिनमा सार्वजनिक गर्ने कोषाध्यक्ष सञ्जय सौगातले जानकारी दिए । पत्रकारको उपचार, राहात तथा आपतकालीन अवस्थामा प्रयोग गरिने उक्त कोषमा सहयोग गर्न समेत महासंघले आग्रह गरेको छ । 


Author

थप समाचार
x