लुम्बिनी

भाइको हातबाट बन्दुक पट्केर दाइको मृत्यु

इकागज |
मंसिर ४, २०७७ बिहीबार १२:४७ बजे

बुटवल : कालिजको सिकार खेल्न हिँडेका दाङका दुई दाजु भाइ घर फर्कंदै गर्दा बन्दुक पट्किएपछि एक जनाको मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिका-२ का ४१ वर्षीय भोजबहादुर घर्तीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो । अन्दाजी २७ वर्षीय टोपबहादुर घर्तीबाट चलेको गोली लागेर भोजबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

स्थानीय परामुनी सोतामा कालिजको सिकार गर्न भन्दै गएका घर्तीद्धय  घर फर्किने क्रममा टोपबहादुर लड्दा बन्दुक पड्किएर भोजबहादुरको घटनास्थलमै मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए । ओरालो बाटोमा भाइ टोपबहादुर दायाँ काँधमा भरुवा बन्दुक बोकेर अगाडि हिँडिरहेको समयमा लडेपछि बन्दुक पड्किएर पछाडि हिँडिरहेका भोजबहादुरलाई छर्रा लागेर मृत्यु भएको डिएसपी खड्काले बताए । टोपबहादुर र भोजबहादुर भाइका छोरा भएको तथा नाताले दाजु भाइ भएको प्रहरीले बताएको छ । प्रहरीले टोपबहादुरलाई नियन्त्रणमा लिइएको छ । टोपबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने डिएसपी खड्काले जानकारी दिए । 



Author

थप समाचार
x