लुम्बिनी

लुम्बिनी सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक

इकागज |
जेठ २६, २०८० शुक्रबार १४:५० बजे

बुटवल- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले अर्घाखाँचीको मालारानीमा बाख्राको सरकारी स्राेतकेन्द्र सञ्चालनमा ल्याउने भएको छ भने कपिलवस्तुको कृष्णनगरमा बागवानीको सरकारी स्राेतकेन्द्र सञ्चालनमा ल्याउने भएको छ । यस्तै प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार बिउ/विरुवा तथा नस्लका प्राथमिक स्राेतका लागि उक्त सरकारी स्राेतकेन्द्र सञ्चालनमा ल्याइने भएको छ ।


प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताए । उनले भने, 'कृषि र कृषकलाई प्रवर्द्धन गर्न प्रतिफलमा आधारित प्रोत्साहन अनुदानलाई निरन्तरता दिइने छ । कृषि पेसालाई मर्यादित र सम्मानित बनाउन कृषि तथा पशुपति क्षेत्रमा उत्पादन तथा प्रविधि हस्तान्तरणमा उदाहरणीय योगदान पुर्याउने कृषकलाई सम्मान गरिने छ ।'

कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारले बालि वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास गर्ने भएको छ । यस अन्तर्गत अर्घाखाँची, पाल्पा, गुल्मी र प्युठानमा सुन्तला जातका फलफूल र तरकारी उत्पादनलाई प्रवर्द्धन गरिने भएको छ ।

यस्तै पशुपन्क्षीतर्फ अर्घाखाँचीमा गाई र बाख्रा पालन व्यवसायलाई पकेट क्षेत्र बनाएर प्रवर्द्धन गर्ने नीति प्रदेश सरकारले लिएको छ ।


Author

थप समाचार
x