लुम्बिनी

एमालेको विरोधका कारण लुम्बिनी प्रदेशसभा बैठक स्थगित

इकागज |
असार १७, २०८० आइतबार १७:२० बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।

आइतबार प्रदेशसभा बैठक सुरु हुनेबितिकै बजेटको विषयमा आपत्ति जनाउँदै एमाले सांसदहरूले नाराबाजी गरेका थिए । बैठकमा सभामुख तुलाराम घर्तीले अर्थमन्त्री धनबहादुर मास्कीलाई आर्थिक वर्ष ०८०/०८१ को राजश्व र व्ययमाथि वार्षिक अनुमानमाथि बोल्न समय दिए लगत्तै प्रतिपक्षी एमालेका सासंदहरू रोष्टम अगाडि नाराबाजी गर्न पुगेका थिए ।


एमाले सासंदहरूले संसदीय मर्यादा कायम गर्न र लुम्बिनी प्रदेश सरकारले खारेज गरेका प्रदेश निर्देशनालयको पुनर्बहालीको माग गर्दै नाराबाजी गरेका थिए । प्रमुख प्रतिपक्षको नाराबाजीपछि सभामुखले असार १८ गते १ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए ।

यसअघि गत १३ गते आह्वान गरिएको बैठकमा पनि एमालेले बजेटको विषयमा आपत्ति जनाउँदै विरोध जनाएका थिए । प्रतिपक्ष दलले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ । प्रदेश सरकारले भने सरकारलाई आर्थिक भार बढी परेकाले आफूहरू निर्देशनालय खारेजीको पक्षमा रहेको जनाएको छ । 


Author

थप समाचार
x