लुम्बिनी

भारत जान जबरजस्‍ती गरेपछि पश्‍चिम नवलपरासीमा गोली चल्यो

प्रहरीको गोली लागेर घाइते स्थानीय युवालाई थप उपचारका लागि बुटवल ल्‍याइयो

बिक्रम खड्का |
जेठ ५, २०७८ बुधबार १२:० बजे

बुटवल : नवलपरासी पश्चिममा पर्ने भारतीय सीमावर्ती नाकाबाट भारततर्फ जानका लागि जबरजस्‍ती गर्ने क्रममा तनाव भएपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । सुरुमा ५/७ जनाको समूहमा जान आएका व्यक्तिहरूलाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरूले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेका थिए । 


५०/६० जनाको समूहमा आएका स्थानीयहरूले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए। नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरे पनि भीड अझ उग्र हुँदै गएपछि बाध्य भएर गोली चलाउनु परेको बताए । 

गोली लागेर घाइते हुनेमा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर छन् । उनको स्थानीय अस्पताल उपचार हुन नसकेपछि बुटवल ल्याइएको छ । भिडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक (सई) शंकर बुढाथोकीसमेत घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x