लुम्बिनी प्रदेशसभा बैठक शनिबारका लागि बोलाइयो
रूपन्देही- लुम्बिनी प्रदेशसभा बैठक शनिबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ । असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको हो ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठक असार ३० गते शनिबार दिउँसो १ बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको जनाएका छन् ।
प्रदेश निजामती सेवाको गठन, सञ्चालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको सचिव पुनले बताए ।
लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो । प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया