भन्सार कडाइले नेपाली व्यवसायीहरूलाई राहत
बुटवल- सरकारले भारतीय बजारमा किनमेल गर्नेहरूका लागि गरेको भन्सार कडाइले नेपाली व्यवसायीहरूलाई राहत मिलेको बताएका छन् । साथै उनीहरूले सय रुपैयाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन पनि माग गरेका छन् ।
बुटवल उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरेर सरकारको भन्सार नीति सकारात्मक भएको भन्दै परिवर्तन नगर्न आग्रह गरेको छ । नाकामा कडाइ गरेपछि सीमावर्ती नेपाली बजार पनि गुल्जार हुन थालेको र सरकारको राजस्व असुलीमा पनि प्रगति भएको भन्दै संघले सीमानाका कडाइलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विगतदेखि गरिएको पहल तथा पैरवीका कारण भन्सार विन्दुमा खुद्रा उपभोग्य वस्तुमा समेत भन्सार महसुल लिने कार्यको थालनीपछि स्थानीय बजारमा सकारात्मक असर देखिन थालेको बताए ।
व्यवसायीका अनुसार भन्सारमा कडाइ गर्न सुरु भएपछि बुटवल बजारमा कपडाको व्यापारमा ३५ प्रतिशत तथा कस्मेटिक तथा मोटरपार्टसमा १० प्रतिशतले वृद्धि भएको उनले बताए । त्यस्तै, अन्य वस्तुको व्यापारमा पनि तुलनात्मक रूपमा वृद्धि भएको कसजूको भनाइ छ ।
सीमा क्षेत्रका कतिपय व्यक्तिको भन्सार नाका खुकुलो बनाउनुपर्ने धारणा आएपछि संघले सरकारलाई दबाब दिन पत्रकार सम्मेलन गरी संस्थागत धारणा प्रस्ट पारेको हो । संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले सरकारले आफ्नो मुख्य स्रोतको वृद्धि सुनिश्चित गर्न तथा स्थानीय उत्पादन र व्यवसायीलाई बलियो गराउनका लागि पनि भन्सार कडाइ गर्ने नीतिलाई निरन्तरता दिनुपर्ने बताए ।
संघका पूर्वअध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठले देशको अर्थतन्त्र दरिलो पार्न भन्सार तथा खुला सीमा नियमनलाई थप कडाइ गर्दै जानुपर्ने बताए । सीमामा अनुगमन तथा निगरानी बढाउन संघका महासचिव विमराज भट्टराईले आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया