लुम्बिनी

अस्पतालमा प्रदेश सरकार

स्वास्थ्यकर्मीको मनोबल बढाउदै स्वास्थ्यमन्त्री

बिक्रम खड्का |
जेठ १०, २०७८ सोमवार ९:८ बजे

बुटवल : लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेको प्रदेश सरकार र सरकारका मन्त्री तथा अन्य पदाधिकारीहरु कोभिड-१९ ले अस्तव्यस्त बनेका अस्पताल पुग्न थालेका छन् । कोभिड-१९ को सबैभन्दा बढी  प्रभावित जिल्ला बाँकेदेखि पहाडी जिल्ला पाल्पा रामपुरसम्म प्रदेशका स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठ पुगेका छन् । 

उनले ती जिल्लाका कोभिड अस्पताल र मातहतका स्वाथ्य केन्द्रहरुमा पनि निरीक्षण गरेका छन् । पछिल्लो एक हप्ता उनले जिल्ला जिल्लामा पुगेर त्यहांका अवस्थाको स्थलगत निरीक्षणसँग उपचारको चापले निस्सासिएका स्वास्थ्यकर्मीको हालखबर सोधेका छन् । प्रदेश सरकारका रुपमा मन्त्री श्रेष्ठलाई अस्पताल परिसरमै पाएर उनीहरुले खुलेर अभाव र आफ्ना पीडा समेत सुनाएका छन् ।  


उनिसंगै कतिपय जिल्लामा स्वाथ्य सचिव विकास देवकोटा लगायतका कर्मचारीहरु पनि पुगेका छन् । कोभिड १९ संक्रमित बिरामीको अत्याधिक चापका कारण अस्पतालका बरण्डा र पेटीमा पाल टांगेर उपचार गराउनु परेको गुनासो स्वाथ्यकर्मीहरुले मन्त्री र सचिवसामू राखेका थिए । स्वास्थ्य केन्द्रका कर्मचारीहरुले पहिलो पल्ट प्रदेश सरकार देख्न पाएको भन्दै आभार प्रकट गरेका थिए ।

चरम अभाव र पीडाका दिनहरु महामारीको यो अवस्थामा बिताउनु परेको भन्दै उनीहरुले स्वास्थ्य उपकरण, अक्सिजन, थप जनशक्ति र भौतिक पुर्वाधारमा लगानी बढाउन आग्रह गरेका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुर, भेरी अस्पताल देखि स्थानीय तहहरुले निर्माण गरेका कोभिड विशेष आइसोलेसनको समेत निरीक्षण गरेका मन्त्री श्रेष्ठले अधिकाश स्थानमा कर्मचारी र पदाधिकारीहरुको सुझाव मागेका थिए । उनले कोभिडको यो महामारीमा पहिलो पंक्तिमा रहेर सेवा गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुप्रति आभार प्रकट गरेका थिए । 

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले पहिलो पंक्तिका स्वास्थ्यकर्मी तथा चिकित्सकले यो संकटपुर्ण समयमा पनि तलबको अलावा केहि नपाएको गुनासो गरेका थिए । सो अस्पतालकका नर्सिङ विभाग प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठ आफै बिरामी भएर पनि बिरामीको उपचारमा अनवरत खट्ने कर्मचारीहरुको मूल्यांकन नभएको गुनासो गरिन् । 

नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. नितेश कुमार कनोडियाले स्वास्थ्यकर्मी तथा चिकित्सकले संकटपुर्ण समयमा काम गरेपनि तलबबाहेक अरु सुविधा नपाएको बताए । मन्त्री श्रेष्ठले बर्दियाको जिल्ला अस्पताल लगायत अन्य स्वास्थ्य संस्थामा पनि कर्मचारीहरुको गुनासो सुनेका थिए । त्यहाँका अभावहरुका विषयमा चिकित्सकहरुले मन्त्री श्रेष्ठलाई अवगत गराए । 

यस्तै पाल्पा अस्पताल तानसेन, युनाइटेड मिसन अस्पताल तानसेन, रामपुर अस्पताल रामपुर, कालीगण्डकी उपचार केन्द्र रामपुर र रामपुर आयुर्वेदिक औषधालय, लुम्बिनी मेडिकल कलेजको पनि निरीक्षण गरेका थिए ।  उनले निरीक्षणका क्रममा अस्पताल विकास समिति तथा राजनितिक दलहरुलाई समेत भेटेर स्वास्थ्य संस्थामा सहजताका लागि सहजीकरण गर्न र कर्मचारीहरुको मनोबल बढाउन आग्रह गरेका थिए । 

उनले स्वस्थ्यकर्मीहरुलाई उपचारमा केन्द्रित हुन आग्रह गर्दै भने – 'चिकित्सकहरुको उपचारमा लाग्नुस, आवश्यक सिलिण्डर, औषधी तथा अन्य आवश्यक सामग्रीको आपूर्तिमा सरकार छ ।'

उनले व्यवस्थापनमा सरकारका साथमा अस्पताल विकास समिति, जनप्रतिनिधि र संघ संस्थाहरुले जिम्मा लिएमा थप सहज हुने बताए । त्यसको लागि थप सहयोग गर्न अस्पतालमा सर्वपक्षीय सहभागिता  रहेको कोभिड नियन्त्रण संयन्त्र बनाउन र जहाँ हरेक व्यक्तिले योग्यता अनुसारको जिम्मेवारी बहन गर्दा सजिलो पर्ने बताए । 

मन्त्री श्रेष्ठले पछिल्लो हप्तामा रुपन्देहीसहित पाल्पा, बर्दिया, बाँके, दाङ, कपिलवस्तु लगायतका जिल्लाका स्वास्थ्य संस्थाको स्थलगत निरीक्षण गरेका छन् । उनले बाँकी जिल्लामा पनि पुगेर वास्तविक समस्याको पहिचान र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने काम गर्ने बताए । झण्डै एक महिना अघि मात्र स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिएका मन्त्री श्रेष्ठले नागरिक समाज र संस्थाको सहयोगको याचना गरेका छन् ।

दोस्रो पटक मुख्यमन्त्री चयनका विषयमा विावाद भएपछि लुम्बिनी प्रदेश सरकारलाई विपक्षी दलहरुको घोषित रुपमै असहयोग छ । त्यसबाहेक पनि पार्टीभित्रै पनि उनलाई असहयोग रहेको गुनासो आउने गरेको छ । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x