लुम्बिनी

भेरी अस्पतालमा स्वास्थ्यकर्मीको आन्दोलनले बिरामीको बिचल्ली

इकागज |
जेठ १४, २०७८ शुक्रबार १२:२५ बजे

बुटवल : स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि भेरी अस्पतालमा कोभिड–१९ संक्रमित बिरामीको उपचारको काम प्रभावित भएको छ । दाङबाट आएका संक्रमित डिल्ली रावतको उपचारका क्रममा बिहीबार राति मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरपछि उनीहरू आन्दोलनमा उत्रिएका छन् । 

राजनीतिक 'पावर'का आधारमा हत्या गर्ने उद्देश्यले आफूहरूमाथि आक्रमण गरेको भन्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीले ढुक्कसँग काम गर्न नसकिने जनाएका छन् । जसले गर्दा कोभिड वार्डमा भर्ना भएका संक्रमित बिरामीको उपचार कार्य नै प्रभावित बन्न पुगेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको रेकर्डअनुसार भेरी अस्पतालमा १ सय १९ पुरुष र ५८ महिला गरी कुल १ सय ७७ जना कोरोना संक्रमित उपचाररत छन् । 


उनीहरू आन्दोलनमा उत्रिएपछि उपरार्थ विरामीहरूको विजोग हुन थालेको छ  । कतिपय स्वास्थ्यकर्मीले आन्दोलन लम्बिन पनि सक्ने भन्दै आफन्तहरूलाई बिरामी अन्यत्र सार्न सुझाव दिएपछि थप आतंक मच्चिएको छ । बर्दियाका बिरामीका आफन्तले केही बेरअघि आफ्नो बिरामीलाई भरिबाट कोहलपुर मेडिकल कलेजमा पुर्याएका छन् । ‘उनीहरूको आन्दोलन चर्किदै गएको छ,’ उनले भने, ‘एकजना नर्सलाई सोधेको बिरामीलाई अन्यत्र बेड पाए लैजान सुझाव दिनुभयो, अनि हतार हतार बिरामीलाई मेडिकल कलेजमा लगेको छु ।’ 

‘घटनापछि स्वास्थ्यकर्मीहरू कोभिड वार्डमा आउनै डराउनु हुन्छ, कति बिरामीले त रातको समयमा पाउनुपर्ने औषधीको डोज नै पाएनन्,’ एक जना कुरुवाले भने । 
रावतको मृत्यु भएपछि राति करिब ८ बजेतिर मृतकका भाइ मानबहादुरसहितको एक समूहले चिकित्सक, स्टाफ नर्स लगायतलाई लखेटीलखेटी आक्रमण गरेका थिए । आफन्तको मृत्युलगत्तै चारैतिरबाट जम्मा भएर लखेट्दै स्वास्थ्यकर्मीको घाँटी नै थिचिदिएका थिए ।

स्टाफ नर्सहरू आफ्नो ज्यान जोगाउन ड्युटी रुम र शौचालयमा पस्दा पनि ढोका फोडेर आक्रमण गरिरहे । त्यसपछि  छतबाटै हाम फाल्न बाध्य भएका थिए । आक्रमणमा संलग्न मानबहादुर नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । उनले उपचारका क्रममा यसअघि पनि मानबहादुरले आफूहरूलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको मान्छे हुँ भन्दै धम्की दिने गरेको स्टाफ नर्सहरू बताउँछन् ।

घटनाको छानबिन गर्न बनेको समितिमाथि नै स्वास्थ्यकर्मीको शंका छ । आक्रमणमा संलग्न रहेका मानबहादुरसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि अन्य केही फरार रहेको बताइएको छ । पीडित स्वास्थ्यकर्मीले सरकारद्वारा हालै जारी गरिएको ऐन अनुसार दोषीलाई कारबाही गर्नुपर्ने माग गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी ओम रानाले बताए ।


Author

थप समाचार
x