तराईमा छठ पर्वको रौनक, लुम्बिनीका ४ जिल्लामा भोलि पनि बिदा
बुटवल - रूपन्देहीको गैडहवाकी फुलमती थारु छठ पर्व मनाउन खुबै तल्लीन छिन् । उनका लागि यो छठ सबैभन्दा ठुलो पर्व हो । गैडहवा गाउँपालिका–६ सुर्यपुराको दानव नदी किनारस्थित सन्तेश्वर घाटमा उनले पुजाका लागि स्थानदेखि सामग्रीको जोहो समेत गरेकी छिन् । परिवारको सुःख शान्ति र सन्तान प्राप्तिका लागि पर्व मनाउने परम्परा भएकाले पनि फुलमती जस्ता धेरैलाई छठले छपक्कै छोपेको छ । चार दिनसम्म मनाइने पर्वमा पहिलो दिन घर सफा गरेर नुहाएर शुद्ध खाना खाएर व्रत बसेकी उनले दोस्रो दिनको कर्म पनि पुरा गरिन् । उनका अनुसार दोस्रो दिन परिवारका सबै सदस्यहरू निर्जल व्रत बस्ने र गुणबाट बनेको खीर खाने चलन छ ।
तेस्रो दिन बाँसले बनेको डोकोमा फलफूलसहित छठी मैयाको पूजा सामग्री लिई नदी किनार पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी उनको छ । चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने तथा दूध र फलफूलसहितको प्रसाद ग्रहण गरेपछि व्रत र पर्व सकिन्छ ।
छठ पर्व लुम्बिनी प्रदेशका तराईका जिल्लामा धुमधामका साथ मनाइने गरिन्छ । तराईबासीले मनाउने छठ पर्व बिस्तारै पहाडीया समुदायले पनि मनाउन थालेका छन् । रुपन्देहीको तिनाउ र दानव नदी किनारमा मेला लागेको छ । आजको अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको कर्म सकिने जनविश्वास रहेको छ । पानीमा आधा शरीर डुबाएर सूर्यलाई अर्घ दिँदा विशेष लाभ मिल्ने बताइएको छ।
यसैबीच लुम्बिनी प्रदेशका चार वटा जिल्लामा छठ पर्वको समापनको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिइएको छ । २०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशको गृह मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।
आइतबार त देशभरी नै बिदा दिईएको भएपनि लुम्बिनीका चार जिल्लामा सोमबार पनि बिदा भएको छ । लुम्बिनीका १२ जिल्ला मध्ये ४ जिल्लामा छठ पर्व मनाउनेहरूको बाहुल्यता रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया