लुम्बिनी

बिरामीले भरिए बुटवलका कोभिड अस्पताल

बाटोमै जान थाल्यो ज्यान

बिक्रम खड्का |
असोज ३०, २०७७ शुक्रबार १६:२२ बजे

बुटवलः लुम्बिनी प्रदेशका कोरोना संक्रमितले अस्पतालमा वेड पाउनै मुश्किल भएको छ । लक्षणसहितका सक्रमितले उपचारका लागि भौतारिंदै ज्यान गुमाउन थालेका छन् । धमाधम संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुनेको संख्या पनि बढेको छ । तर बिरामीले अस्पतालको आईसियुको खोजी गर्दै हिड्दा बाटोमै ज्यान गुमाएका छन् । 

घटना १ 


  • अर्घाखाँचीको भुमिकास्थान ९ का ७३ वर्षीय पुरुषमा २९ असोजमा कोराना पुष्टि भयो । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । अन्य रोगले समेत ग्रस्त रहेका उनलाई तत्काल आइसियू आवश्यक पर्‍यो । तर बुटवल/भैरहवाका कोभिड अस्पतालमा एउटा पनि आईसीयू खाली नभएपछि उपचारमा अन्योल श्रृजना भयो । परिवारले आईसियूको प्रबन्ध गर्ने बेलासम्मका लागि भन्दै विरामीलाई होम आइसोलेसनमा भैरहवामा लगेर राखे । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले थप उपचारका लागि दाङको बेलझुण्डी लैजान सल्लाह दिइयो । तर विरामीको त्यही दिन दिउसो ४ बजे घरवाट पुन अस्पताल लैजाँदै गर्दा मृत्यु भयो ।

 
घटना २ 

  • रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिला २४ असोजमा उपचारका लागि लम्बिनी प्रदेशिक अस्पतालमा पुगिन् । त्यही दिन कोरोना परिक्षणपछि उनमा कोरोना संक्रमण देखियो । अब उनलाई आइसीयूसहितको उपचार बेडको आवश्यकता पर्‍यो । अस्पतालले आफूकहाँ बेड नभएकोले अन्यत्र लैजान सुझाव दियो । जताततै हारगुहार गरे तर बेड नपाएपछि रातारात दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल पुर्‍याए । अस्पताल पुर्‍याएपनि विहानै अस्पतालले निधन भएको घोषण गर्‍यो ।

 
घटना ३ 

  • पाल्पाको तानसेन नगरपालिका-७ का ५२ वर्षीय कोरोना संक्रमित विरामी उपचारका लागि एम्बुलेन्समार्फत् बुटवल आए । पाल्पाको मिसन अस्पतालले उनलाई आईसीयूसहितको कोभिड अस्पतालका लागि भन्दै बुटवल रिफर गरेको थियो । तर बुटवल र भैरहवाका कुनै पनि अस्पतालमा उनले उपचार गर्न पाएनन् । कारण एउटै थियो वेड अभाव । आफन्तले दिनभरि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, धागो कारखानाको कोरोना विशेष अस्पताल, बुटवलकै मुटु अस्पतालदेखि भैरहवाको भिम अस्पतालमा पुर्‍याए र उपचारका लागि यचना गरे तर कसैले भर्ना लिएन । त्यसपछि त्यही दिन राति पुनः पाल्पाकै बृद्धा आश्रमको आइसोलेसनमा लगेर राखे । त्यसको २ दिन पछि १ असोजमै उनको मृत्यु भयो । 

 

घटना प्रतिनिधिमुलक हुन् । झण्डै एक महिनादेखि यस क्षेत्रका अस्पतालहरुमा उपचारका लागि वेडको चरम अभाव छ । तर यस्तो संवेदनशील विषयमा सरकारको बेवास्था देखिन्छ । बिरामी बाटोमै मृत्युवरण गर्नुपर्ने अवस्थामा पुगे पनि प्रदेश सरकारका लागि भने यो विषय प्राथमिकतामा परेको देखिदैन । ‘धन सम्पत्ति हुने र ठूला बडाले महँगा निजी अस्पतालहरुमा लगेर उपचार गरेका छन् । सर्वसाधारण बाटोमै मर्न पर्ने अवस्था आयो’ मानव अधिकार तथा शान्ति समाजका उपसभापति गोविन्द खनाल भन्छन् । यस्तो संवेदनशील विषयमा सरकारको पटक्कै ध्यान नपुग्‍नु दुःखद विषय भएको उनको भनाई छ  ।
 
२० करोड सकियो
कोरोना संक्रमितको उपचारका लागि २० करोड रुपैयाँ विनियोजन गरेको लुम्बिनी प्रदेश सरकारले १२ जिल्लाका लागि ७ वटा भेन्टिलेटर थपेको छ । रुपन्देहीका दुई तथा बाँके र दाङका एक/एक गरी ४ वटा अस्पतालमा ३४ बेडको आइसीयू संचालन गरिएको छ । देशभर लक्षणसहितका तथा गम्भीर अवस्थाका संक्रमित थपिँदै गर्दा आइसोलेसनसँगै आइसियू र भेन्टिलेटर अभाव भइरहेको छ । तर प्रदेश सरकारले आइसीयू र भेन्टिलेटर थप गर्नेतर्फ कुनै तयारी गरेको छैन ।

गत चैत १० गते बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले बुटवल, भैरहवा, दाङ र नेपालगञ्‍जका ४ वटा अस्पतालमा भेन्टिलेटर र आइसीयू सहितको आइसोलेसन तयार गर्ने निर्णय गरेको थियो । सोही अनुसार आइसोलेसन अस्पताल निर्माण गर्न बजेट विनियोजन गरिएको थियो । बजेट बिनियोजन भए पनि लकडाउनलाई कारण देखाउँदै भेन्टिलेटर खरिद गरिएन ।

बुटवल धागो कारखानास्थित आइसोलेसन अस्पताललाई गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सापटीको रुपमा चार वटा भेन्टिलेटर र ८ वटा आइसीयू वेड उपलब्ध गराएपछि सेवा शुरु गरिएको थियो । तर गम्भीर अवस्थाका कोरोना संक्रमित थपिँदै जाँदा समेत आइसीयू र भेन्टिलेटर खरिद गर्नेतर्फ अस्पताल र सरकारले समेत चासो दिएका छैनन् । मुटु अस्पतालले सापटीमा दिएको आफ्नो उपकरण मागे पनि सुनुवाई भएको छैन ।


 
प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले कोरोना संक्रमणपछि सरकारले चारवटा अस्पतालमा १२ वटा भेन्टिलेटरसहित ३४ बेडको आइसीयू संचालन गरेको बताए । तर यस्तो पूर्वाधारले १२ जिल्ला त के एउटै जिल्लाका सक्रमित बिरामीलाई पनि नथेग्‍ने अवस्था आएको एक चिकित्सकले बताए ।

संक्रमण फैलिएको सात महिना पुग्दा पनि अस्पतालले पूर्वाधार निमार्णमा पर्याप्त ध्यान नदिएको ती चिकित्सकको भनाइ छ । लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरेटेण्डेन्ट डा. राजेन्द्र खनालले निकै थोरै आईसीयू र भेन्टिलेटर भएकोले आफू विरामी भएर आईसीयू चाहिने अवस्था आएपनि घरमै सबै प्रबन्ध गरेको बताए । घरमै अक्सिजनदेखि चिकित्सकहरुको निगरानीमा बसेको उनको भनाइ छ । उनी सक्रमणपछि भर्खरै मात्र काममा फर्किएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको ५ बेडको आईसीयूमा यसअघिकै जम्मा २ वटा मात्रै भेन्टिलेटर छन् । भैरहवास्थित भीम अस्पतालमा पनि एउटा भेन्टिलेटरसहित ५ बेडको आइसीयू र २२ वेडको आइसोलेसन मात्रै संचालनमा छ ।
 
साविक लुम्बिनी अञ्‍चलका ६ जिल्लाको साथै प्यूठान र पूर्वी नवलपरासीका गम्भीर संक्रमित उपचारका लागि आउने रुपन्देहीमा प्रदेश सरकारले एउटा मात्रै भेन्टिलेटर उपलब्ध गराएको छ । नेपालगञ्‍जको भेरी अस्पतालमा एउटा भेन्टिलेटर र ८ बेडको आइसीयूसहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्‍चालनमा छ । प्रदेश सरकारले यसअघि कोरोना विशेष अस्पतालको रुपमा सञ्‍चालन गरेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका आइसियू र भेन्टिलेटर भेरी अस्पतालमा सारिएको हो ।

त्यस्तै दाङको बेलझुण्डीमा रहेको कोरोना अस्पतालमा ५ वटा भेन्टिलेटरसहितको आइसीयू बेड संचालनमा छ । प्रदेश सरकारले चैत महिनामा नै दुईवटा भेन्टिलेटर, ५ बेडको आइसीयू कक्ष संचालन गरेपनि जनशक्ति अभाव हुँदा आइसीयू संचालन हुन सकेको थिएन । विगत एक महिनादेखि भने संघीय सरकारले जनशक्तिको व्यवस्था गरेपछि राप्ती प्रादेशिक अस्पतालबाट समेत तीन वटा भेन्टिलेटर थपेर पाँच वटा संचालनमा आएको अस्पतालका कोरोना फोकल पर्सन डा. प्रवेश शर्माले जानकारी दिए ।

  • तथ्याङकमा लुम्बिनी प्रदेश 

जम्म कोरोना संक्रमित-              १४४५४ 
निको भएको संख्या-                  १०६५१
सक्रिय सक्रमित-                       ३३९४ 
अस्पताल पुगेको सक्रमित-         ३४४ 
सरकारी अस्पतालको आईसीयू- ३४
भेन्टिलेटर संख्या-                     १२ 
मृत्यु-                                      ११४

पर्याप्त आइसीयू र भेन्टिलेटर नहुँदा गम्भिर अवस्थाका कोरोना संक्रमितलाई आइसोलेसनमै राखेर उपचार गर्न बाध्य भएको चिकित्सकहरु बताउँछन् । भैरहवाको भिम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले  ५ वेडको आईसीयू भएपनि ३६ जनाको उपचार गर्न बाध्य भएको बताए । उनले गम्भीर अवस्थाका विरामीका लागि समस्या भैरहेको गुनासो गर्दै जबरजस्ती विरामी छाडेर जाने गरेको उनको दुखेसो छ ।
 
बुटवल कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापा थप आइसोलेसनका लागि पनि स्रोत साधनको अभाव भइरहेको बताउँछन् । गम्भीर अवस्थाका संक्रमितको चाप बढ्दै गएपनि प्रदेशका अस्पतालमा पूर्वाधार र उपकरण थपिएका छैनन् । रुपन्देहीमा भेन्टिलेटर अभाव भएपछि बाहिरका जिल्लामा लैजाँदै गर्दा संक्रमितहरुको बाटोमै मृत्यु हुने गरेको छ । डा. थापाका अनुसार, बुटवलमा बनाएको आइसीयूमा हालसम्म करिब १ सय ६८ जनाले उपचार लिएका छन् भने अहिले पनि ४९ जना कोरोना संक्रमितले उपचार सेवा लिइरहेका  छन् । यो अस्पतालमा कोरोना पुष्टि भएका ४४ जनाको मृत्यु भइसकेको छ । 

सरकारको प्राथमिकतामै परेन 
कोरोनाले जनताको अवस्था भयावह हुँदै गर्दा सरकार चाहिं प्रदेश राजधानी सार्ने खेलतिर लाग्यो । विरामीहरुले उपचार नपाएर मर्ने अवस्थामा पुग्दा शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारले राजधानी दाङको भालवाङ सार्ने प्रस्ताव अघि बढायो । जुन प्रस्ताव दुई तिहाई बहुमतले पास पनि भयो ।

त्यो प्रस्तावसँग सडकमा उत्रिएका रुपन्देहीका आन्दोलनकारीहरुको भिडभाडले कोरोना संक्रमण व्यापक भयो । सदनमा पक्ष-प्रतिपक्षको रस्साकस्सीले सभामुख मन्त्रीदेखि सांसदहरु सक्रमित बन्‍न पुगे । यो घटनाले सरकारको प्राथमिकता सक्रमण उपचार भन्दा पनि राजधानी सार्न महामारीका बेला अनुकूल समय खोजेको देखिएको आरोप लागेको छ ।

पछिल्लो १० दिनमा रुपन्देहीको सक्रिय सक्रमितको संख्या दोब्बर भएको छ । सदनदेखि सडकको भिडभाड र आन्दोलनले सक्रमणको दर बढाउको हुन सक्ने प्रादेशिक अस्पतालका डा सुदर्शन थापाले बताए । उनले भने, ‘पछिल्लो १० दिनमा कोरोना सक्रमित दर बढेको छ, यसका अन्य कारण पनि हुन सक्छन् । तर मुख्य कारण भिडभाड, नाराजुलस, आन्दोलन नै हो ।’


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x