लुम्बिनी

लुम्बिनी प्रदेश

पहाडी जिल्लामा पहिरोको पीर, तराईमा डुबान

बिक्रम खड्का |
असार २, २०७८ बुधबार १२:२५ बजे

बुटवल : तीन दिनदेखि परिरहेको वर्षाका कारण लुम्बिनी प्रदेशका दर्जनौँ सडकहरू अवरुद्ध भएका छन् । प्रदेशका पहाडी क्षेत्रका अधिकांश सदरमुकामहरू पुग्ने सडक सम्बन्ध अवरुद्ध भएको छन् भने सहायक मार्गको अवस्था पनि उस्तै छ । 

राजमार्गसँग जोडिने पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पुग्ने सबै सडकहरू ठाँउठाँउमा पहिरो खसेका कारण बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रदेश ट्राफिक प्रहरीका अनुसार मंगलबार मध्यान्हबाट बन्द भएको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको देवदह नजिकै सडक भास्सिएपछि सडक बुधबार पनि खुल्न सकेको छैन । 


निरन्तर वर्षा जारी रहेका कारण वैकल्पिक सडक बनाउन नसकिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । त्यसैगरी सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा कम्तिमा आधा दर्जन स्थानमा पहिरो गएको छ भने बर्तुङ राम्दी खण्ड, तानसेन रिडि, रिडी तम्घास र रिडी वामीटक्सार खण्डपनि बन्द रहेका छन् ।

सिद्धार्थ राजमार्गको तिनाउ–५ कालिमाटी, तानसेनको गौडापुल, तानसेन–८को जरेपिपल तथा तानसेन–१४ गाईघाटमा पनि पहिरोका कारण सडक अवरुद्ध रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए । उनका अनुसार रिब्दीकोटको हार्थोक, रिब्दीकोटकै मालमुलमा पनि पहिरो खसेको छ । उता पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा ४ हुमिन, बग्नसकालीको सेरा लगायतका क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध रहेको छ ।

उता गारुसिङ्गे सन्धिखर्क सडकको फुटवाङ, प्युठान भालुवाङ सडकको सर्मरानी ४ खहरेखोलामा सडक बन्द हँदा रोल्पा, प्युठानसँगको सडक सम्बन्ध विच्छेद भएको डीएसपी पाण्डेले बताए । बुटवल पश्चिमको राजमार्ग भने सुचारु रहेको उनले बताए । वर्षा हुने क्रम जारी रहेकाले यात्रा तय नगर्न आग्रह गर्दै पाण्डेले अहिलेसम्म सडकमा पहिरो खसेर जनधनको क्षति भने नभएको जानकारी दिए ।

यता अविरल बर्षाका कारण रुपन्देहिको मर्चवार क्षेत्र प्रभावित भएको छ । प्रत्येक वर्ष जसो प्रभावित हुँदै आएको मर्चवारको भर्थापुर गाउँमा बाढी पसेको छ । तिनाउ र दानव नदीको संगम स्थल दुईमोहानदेखि ३ किलोमिटर दक्षिण  रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरमा पानी पसेको हो ।

सशस्त्र प्रहरी बल दुईमोहानका शसस्त्र प्रहरी नायब निरिक्षक कृष्ण बहादुर बस्नेतको कमाण्डमा डुबान क्षेत्रमा गएको टोलीले डुबानमा परेकालाई उद्दार कार्य जारी राखेको छ । अहिले उक्त क्षेत्रमा पानीको बहाव र सतह बढ्दो अवस्थामा रहेकोले सशस्त्र प्रहरी उद्दार टोली पूर्ण तयारी अवस्थामा रहेको सई बस्नेतले जानकारी दिएका छन् । यसैगरी ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र महतको नेतृत्वमा गएको टोली उक्त क्षेत्रको कडा निगरानीसहित उद्दारमा खटेको छ ।

उद्दार टोलीले २ दिने सुत्केरी महिलासहित ७ जनालाई उद्दार गरी सुरक्षित स्थानमा पु¥याएको छ ।  यसैबीच मर्चवारको शिवपुर गाउमा बाढी पस्न थालेपछि स्थानीयले मर्चवार जाने मुल बाटो फोडेका छन् । बनगाइ–मर्चवार मुलबाटोको गरगट्टी र मकरी भन्ने स्थानमा बाटो काटी पानीको निकास बनाइएको छ । यसले अहिले मर्चवार र सदरमुकाम भैरहवाको आवगमन रोकिएको छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x