लुम्बिनी

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

इकागज |
असार ९, २०८१ आइतबार १९:४५ बजे

बुटवल- बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ ।

आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८.६५ प्रतिशत र पुँजीगततर्फ ५१.३५ प्रतिशत रहने गरी २ अर्ब ९९ करोड २२ लाख बराबरको आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेकी हुन् । 


बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि, पशुपक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई प्राथमिकता दिई रकम विनियोजन गरिएको छ । 

बजेटमा 'छोरी पढाऔं, समाज बनाऔं' कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्राहरूलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने उल्लेख छ । यस्तै लुम्बिनी बस टर्मिनलमा विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्राम स्थल निर्माण गर्न १ करोड बजेट छुट्याइएको छ । 

त्यस्तै बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थलका रूपमा स्थापित गर्न र आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई वृद्धि गर्न 'बुटवल भ्रमण वर्ष' घोषणा गर्ने उल्लेख छ । 


Author

थप समाचार
x