गाउँभरिको खेतमा महिलाले गरे सामूहिक रोपाइँ
राँझा (बाँके)- जिल्लाको खजुरा गाउँपालिका–१ राधापुरका महिलाले गाउँभरिको खेतमा सामूहिक रोपाइँ गरेका छन् । रोजगारीका लागि अधिकांश पुरुषले घरछोडेपछि राधापुरका महिलाले सामूहिक रोपाइँ गर्दै आएका हुन् ।
रोपाइँ समूहमा आवद्ध २५ महिला एक महिनादेखि गाउँका खेतमा आलोपालो गर्दै रोपाइँमै व्यस्त देखिन्छन् ।
“घरमा लोग्ने मान्छे छैनन्, भान्सादेखि घरबाहिरको खेती किसानी सबै हाम्रै जिम्मामा छ”, धान रोप्दै गर्नुभएकी राधापुरकी ममता विकले भनिन्, “एक्लै खेत रोपेर नसकिने, गाउँमा खेताला पनि नपाइने भएपछि गाउँका दिदीबहिनी मिलेर सामूहिक रोपाइँ सुरु गरेका हौँ ।”
महिला दिदीबहिनीले आफ्नो मात्र नभइ मूल्य तोकेर गाउँमा सबैको धान रोपाइँको काम गर्न थालेपछि अहिले खेताला खोज्नुपर्ने झण्झट हराएको उनले बताए । यसरी सामूहिक रोपाइँ गर्दा काम खोज्ने र कामदार खोज्ने दुवै पक्षलाई सहज भएको उनको बुझाइ छ ।
समूहका सदस्यभित्र प्रति घण्टा रु दुई हजार र समूह बाहिरप्रति घण्टा रु तीन हजारका दरले महिला दिदीबहिनीले रोपाइँ गर्दै आएका छन् । सामूहिक रोपाइँबाट यसवर्षको हालसम्म रु एक लाख ८० हजार आम्दानी भइसकेको समूहकी अगुवा अञ्जली सुनारले जानकारी दिइन् ।
“समूहमा आवद्ध भएर काम गर्दा आफ्नो धान रोपाइँ समयमै हुनुको साथै आर्थिक बचत पनि गर्न सफल भएका छौँ”, उनले भने, “यो वर्षको अहिलेसम्म रु एक लाख ८० हजार बचत भइसकेको छ, अझै एक हप्तासम्म रोपाइँ गर्दा रु दुई लाख पुग्छ ।”
राधापुरको न्याउलीडाँडा निवासी बालसरा सुनारले सामूहिक रोपाइँले गाउँमा खेती किसानीको काममा धेरै सहज भएको बताइन् ।
“आफ्नो सात कठ्ठा खेतमा धान रोप्ने गरेकामा महिला समूहमा आवद्ध भएपछि यो वर्ष थप १० कठ्ठा खेत अधियाँ लगाएर रोपाइँ गरेको छु”, उनले भने ।
“गाउँका अधिकांश युवा रोजगारीको लागि विदेश पलायन भएका छन्, घरमा वृद्ध सासू–ससुरा मात्रै हुनुहुन्छ”, स्थानीय समिक्षा खड्का विकले भनिन्, “बच्चाबच्चीको हेरचाह गर्ने, खेती किसानीका साथै परिवारको सम्पूर्ण जिम्मेवारी हेर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा समूहमा काम गर्दा सहयोग हुनुका साथै काम छिटो सम्पन्न भएको छ ।”
विगतमा एक्लै वा एक/दुई जना पर्म लगाउने गरेपनि गतवर्षदेखि महिला समूहमा आवद्ध भएसँगै पर्म खोज्ने झन्झट अन्त्य भएको उनले बताइन् ।
“गतवर्ष १७ जनाको समूह बनाएर रोपाइँको सुरुवात गरेका थियाँै, त्यसबाट रु एक लाख पाँच हजार आम्दानी गरेका थियौँ”, समिक्षाले भनिन्, “यो वर्ष २५ जनाको समूहबाट रोपाइँ गरिरहेका छाँै, आम्दानी पनि धेरै हुने अपेक्षा लिएका छौँ ।”
राधापुरका महिला दिदीबहिनीले सामूहिक रुपमा काम गरेर आर्थिक बचत गर्न सफल हुनुका साथै सकरात्मक सन्देश दिएको दलित महिला सङ्घकी सहजकर्ता तारा विकले बताइन् ।
उनीहरूको उत्साहलाई कायम राख्न संस्थागत रुपमा आवश्यक सहयोग र समन्वय गरिने उनले जानकारी दिइन् ।
खजुरा गाउँपालिका–१ का वडाध्यक्ष मनवीर क्षेत्रीले दिदीबहिनीले सामूहिक रुपमा रोपाइँ गरेर उदाहरणीय कार्य गरिरहेको बताए ।
महिलाको हौसला वृद्धि गर्न अन्य सीपमूलक कार्यक्रम सञ्चालनको योजना बनाइएको जनाउँदै महिला सक्षम भए समाज नै समृद्ध बन्ने उनले धारणा राखे । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया