लुम्बिनी

मादलबाटै दसैं-तिहारमा डेढ लाख बढी कमाएपछि खुसी छन् जुठे

इकागज |
कात्तिक १७, २०८१ शनिबार १२:५८ बजे

घोराही (दाङ)- घोराही उपमहानगरपालिका–१४ झिंगौराका जुठे बादीलाई हिजोआज मादल बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ । उनी यस वर्षको दसैं र तिहारको हालसम्म नयाँ मादल बिक्री र पुराना मादलको मर्मत गरी रु डेढ लाख बढी आम्दानी गरेको बताउँछन् ।   

पछिल्लो समय नयाँ मादल खरिद गर्ने भन्दा पुराना मादल खरिदका लागि आउने गरेको उनले सुनाए ।


“पुराना मादल मर्मत गर्दा कम समयमा पनि राम्रो आम्दानी हुने गर्दछ । अरु बेला सुनसान हुने हाम्रो व्यवसाय दसैं–तिहारको अवसरमा बढोत्तरी हुन्छ । दसैँमा नाच्ने र तिहारमा देउसी–भैलो खेल्नका लागि मादलको माग बढी हुने गरेको छ । जसले गर्दा राम्रो आम्दानी हुन्छ”, बादीले भने । 

आम्दानी मात्रै होइन आफ्नो पुस्ताले यो पेसा नै संरक्षण गरिरहेको उनको भनाइ छ । “पछिल्लो समय मादल बनाउन जानेको मानिस पाउन समस्या छ । मैले सानैमा बुबा–बाजेबाट मादल, बाँसुरी र ढोलक बनाउन सिके, त्यही सीपले अहिले दैनिकी चलाइरहेको छु”, बादी भन्छन्,“तर अहिलेको पुस्तामा मादल बनाउने सीप छैन । न आकर्षण छ ।”

घोराहीमा विगत ५० वर्षदेखि निरन्तर मादल बनाउने र बिक्री गरेर आयआर्जन भइरहेको बताउने उहाँ यही कर्मले घरपरिवारको सम्पूर्ण गर्जो टार्ने काम भइरहेको बताए । “हाम्रो अरु पेसा सङ्कटमा पर्‍यो । समय बदलिँदै जाँदा यो पेसा पनि विस्तारै हराउला तर पनि त्यो सीप भएकाले हाल हातमुख जोर्न सहज भएको छ । योभन्दा अरु सीप पनि छैन । उमेरले साथ दिएसम्म आफनो पेसा छोड्ने मन छैन”, उनको कथन छ ।

मादल बनाउने मानिसको अभावसँगै पछिल्लो समय मादल बनाउन आवश्यक काठ, छाला र खरी लगायत सामग्री पाउनै समस्या भएको जुठे बादीले समस्या सुनाए । “चाडपर्वको समय छ । नयाँ मादल किन्न तथा पुराना मादल मर्मतका लागि आजभोलि दैनिक १५/२० जना मानिसहरु आउने गरेका छन् । तर एक्लै भएकाले काम गर्न समस्या छ । त्यसैमा आवश्यक सामाग्री पनि सजिलै पाइँदैनन् । त्यसैले योबेला मागअनुसार काम गर्न कठिन छ”, उनी भन्छन् । रासस


Author

थप समाचार
x