लुम्बिनी

गढीमाई मन्दिरमा दर्शनार्थीको सिक्री चोर्ने तीन जना पक्राउ

इकागज |
कात्तिक १९, २०८१ सोमबार ७:१७ बजे

सांकेतिक तस्बिर

बारा- यहाँको बरियारपूरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोर्ने पर्साका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका—१६ बस्ने शम्भु राय, सन्दिप राय र पर्सा पकहाँमैनपूर गाउँपालिका- ५ का पवन यादव रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । 


शनिबार मन्दिरमा आएका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो । पछि मेलामा जडान गरिएको सिसिटिभीमा हेर्दा तीनै जनालाई पहिचान गरी सोही आधारमा पक्राउ गरिएका प्रहरीलाई उद्धृत गर्दै  महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले जानकारी दिए ।

उनीहरूमध्ये एक जना आइतबार एक दर्शनार्थीको पाइन्टको खल्तीबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिए ।  

गढीमाई मेला असोज १७ गते घटस्थापनाको दिनदेखि नै  विधिवत् रूपमा सुरु भएयता चार दर्शनार्थीहरूको सुनको सिक्री चोरी भएकामा चारै जनालाई पक्राउ गरिएको उनले बताए । 

मेलामा सुरक्षाका लागि २० ठाउँमा सिसिटिभी जडान गरिएका र १० वटा थप्ने काम भइरहेको मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष एवम महागढीमाई नगरपालिका प्रमुख यादवले  जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मेला अवधिभर सुरक्षाको यथोचित प्रबन्ध गरिएकाले ढुक्क भएर मेला भर्न दर्शनार्थीहरुलाई आग्रह गरे । 


Author

थप समाचार
x