हडियाबाबा मेलामा साधुसन्तको भीड
राँझा (बाँके)- नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम परिसर यतिबेला साधुसन्तले भरिएको छ । चिसो मौसमको बेवास्ता गर्दै साधुसन्त दिनरात हडियाबाबा मन्दिर परिसरको खुला बगैँचामा बिताइरहेका छन् ।
हडियाबाबा मन्दिरमा यही मङ्सिर २ गतेदेखि सुरु भएको छदिने हडियाबाबा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट आठ सयभन्दा बढी साधुसन्त उपस्थित भएको हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानाकारी दिए ।
“रातको समयमा पनि साधुसन्त मन्दिर परिसरमा आगो तापेर भजनकीर्तनमा रमाउने गर्नुहुन्छ”, अध्यक्ष वैश्यले भने, “मेलामा प्रत्येक दिन उपस्थित साधुसन्त तथा हडियाबाबाका भक्तजनलाई भण्डारा खुवाउने व्यवस्था मिलाइएको छ ।”
करिब २० कठ्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर र गौशाला रहेको छ । पर्खालले घेरिएको मन्दिर परिसरभित्र उद्यान छ । शान्त वातावरणमा रहेको हिडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो ।
करिब एक सय वर्षअघि नेपालगञ्जमा आएका बाबाले आफ्नो तपस्याको शक्तिबाट चाहेको वस्तु बनाउन सक्ने, भक्तजनको इच्छा पूर्ति गर्न सक्ने जनश्रुति तथा विश्वास रहिआएकाले बाँकेका साथै भारतका विभिन्न क्षेत्रबाट साधुसन्त तथा हडियाबाबाका भक्तजन प्रत्येक वर्ष मेलामा सहभागी हुने गरेका अध्यक्ष बैश्यले बताए ।
मन्दिर परिसरमा हडियाबाबाको समाधि, आश्रम र मन्दिरसहित साधुसन्त बस्न मिल्ने संरचना तथा बगिया छ । सोही बगियामा हरेक वर्ष हडियाबाबाको वार्षिक पुण्यतिथिमा मेला लाग्ने प्रचलन छ । अध्यक्ष वैश्यका अनुसार मन्दिरमा आएर भाकल गर्नेहरूको मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।
रामलीला धार्मिक नाटकसमेत मञ्चन हुने मेलामा प्रत्येक दिन साँझपख स्थानीयवासीको समेत ठूलो सङ्ख्यामा उपस्थिति हुने गरेको छ । मेला अवधिभर प्रत्येक दिन साँझ हडियाबाबा मन्दिरमा दर्शन गर्न र प्रसाद खान फुल्टेक्रा, रामनगरलगायत टाढाटाढाबाट झक्तजन आउने गरेको स्थानीय अगुवा माधवराम बर्माले बताए ।
हडियाबाबा मेला स्थानीयको सहयोगमा सञ्चालन हुँदै आएको ऐतिहासिक मेला भएकाले यसलाई भव्य रूपमा सम्पन्न गर्न सबैको भूमिका अपपरिहार्य भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनले मेलामा आवश्यक शान्ति, सुरक्षाका लागि प्रहरी प्रशासनले उचित प्रबन्ध गरेको उल्लेख गर्दै मेलालाई मर्यादित रूपमा सञ्चालन गर्न आयोजकलाई अनुरोध गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया