लुम्बिनी

क्राइटएरिया पुगेमा बुटवल उपमहानगर महानगर बन्न सक्छ : उपप्रधानमन्त्री सिंह

इकागज |
फागुन ३, २०८१ शनिबार १९:२० बजे

बुटवल- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताएका छन् । शनिवार बुटवल उपमहानगरपालिकाको ६६औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले संघीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशाेधन र ऐन बनाउनका लागि नै अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर अहिले सरकार बनेको बताए । 


`राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न समयको आवश्यकता अनुसार संसदका दुई ठुला दल मिलेर सरकार बनेको छ । कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन,´ उनले भने,`संघीयताको मूल भावना अनुसार तीनै तहको सरकारलाई पूर्ण अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ । राजनीतिक स्थीरता र आर्थीक समृद्धिका लागि सरकार लागेको छ ।´

त्यस्तै, उपप्रधानमन्त्री सिंहले अब शहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिनसक्नुपर्ने भन्दै नागरिकको जीवन सहज बनाउने गरि शहरलाई अघि बढाउनुपर्ने बताए ।

बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको बताए । आर्थिक गतिविधि मात्र हाेइन बुद्धजन्मस्थल लुम्बिनी देखि मुक्तिनाथसम्म जाेडेर धार्मिक सर्किट बनाउन सकिने सिंहको भनाई थियो ।  उपप्रधानमन्त्री सिंहले क्राइटएरिया पुगेमा बुटवल उपमहानगरबाट महानगरपालिका बन्न सक्ने सम्भावना रहेको पनि उनले बताए ।

उपप्रधानमन्त्री सिंहले लौह पुरूष गणेशमान सिंह जेल ब्रेक गरेर बुटवल पुगेको सन्दर्भ चर्चा गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा बुटवलको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे । उनले बुटवलको विकासको लागि शहरी विकास मन्त्रालयमार्फत गर्न सकिने काम भइरहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए ।


Author

थप समाचार
x