लुम्बिनी

विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण

इकागज |
चैत १, २०८१ शुक्रबार ९:७ बजे

नेपालगञ्ज- बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि रु ४० लाखको लागतमा नमूना बस्ती निर्माण सुरु भएको छ । 

नगरपालिका–१४ हवल्दारपुरमा रहेका चिडिमार तथा खटिक परिवारका लागि बस्ती निर्माण थालिएको हो ।  नगरपालिकाको पहलमा छिमेक सेवा समाजले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि  वर्षौंदेखि छाप्रोमा सकसपूर्ण जीवन बिताइरहेका उनीहरू पक्की घरमा बस्न पाउने छन् । 


नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत पहिलो चरणमा आठ घर निर्माण थालिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए । विपन्न परिवारको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले नमूना बस्ती निर्माण सुरु गरिएको उनले बताए । 

समाजले अन्य ठाउँमा पनि विपन्न समुदायका लागि नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत आवास बनाउने भएको छ । हवल्दारपुरमा करिब ३० परिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको कोहलपुर–१४ का वडाध्यक्ष नमबहादुर आलेले बताउनुभयो । उहाँले आठ वटा घरका लागि रु ४० लाख लागत रहेको र शौचालय, पानी र बाटोका लागि स्थानीय सरकारले सहयोग गर्ने जानकारी दिए ।  

सामाजिक अभियन्ता एलबी कार्कीले आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको बताए । संस्थाले दुईकोठे पक्की घर बनाइदिनेछ । वर्षौंदेखि झुप्रोमा बस्दै आएका उनीहरू पक्की घर पाउने भएपछि खुसी छन् । गर्मीयाममा जसोतसो दिनरात कटे पनि वर्षायाम र चिसोयाममा सकसपूर्ण अवस्था व्यहोर्नु परेको मोलहे खटिकले दुखेसो सुनाए । 

पहिलो चरणमा मोलहे खटिक, जोखन खटिक, मनोहर चिडिमार, राधे चिडिमार, ओम प्रकाश चिडिमार, माताप्रसाद कुर्मीलगायत विपन्नका घर निर्माण हुनेछन् । 


Author

थप समाचार
x