लुम्बिनी

प्रदेश राजधानी काण्ड : लुम्बिनी प्रदेशका मन्त्री, सांसद र कर्मचारीहरूमा संक्रमण

बिक्रम खड्का |
कात्तिक १, २०७७ शनिबार १७:१३ बजे

तस्बिरः बिक्रम खड्का/इकागज

बुटवल : राजधानी काण्डले भिडभाड र नाराबाजी भएपछि लुम्बिनी प्रदेशका मन्त्री र सासदहरू धमाधम कोभिड-१९ संक्रमित बनेका छन् । गत असोज २० गतको प्रदेशसभा बैठकमा सहभागी सभामुख, उपसभामुख, मन्त्री तथा प्रदेशसभा सदस्यहरूलाई कोरोना संक्रमण पुष्टि हुने क्रम थपिदै गएको छ । अहिलेसम्म लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधारमन्त्री वैजनाथ चौधरी, प्रदेश सभामुख पुर्णबहादुर धर्ती, उपसभामुख कृष्णी थारुलाई सक्रमण भएको छ। 

त्यसैगरि प्रदेशसभाको सार्वजनिक लेखा समिति सभापती डिल्ली चौधरी, उद्योग वन वातावरण समिति सभापती दघिराम न्यौपाने, सासदहरू अष्टभुजा पाठक, शंकर गिरी, प्रदेशसभा सचिव दुलर्भकुमार पुन तथा ३५ जनाभन्दा बढि सचिवालयका कर्मचारी, सभामुख, उपसभामुख तथा सांसदका स्वकीय सचिवहरू, सुरक्षागार्ड र चालकहरूलाई पनि संक्रमण पुष्टि भएको छ ।  सक्रमणबाट मुख्यमन्त्रीका सुरक्षा गार्डदेखि मन्त्रालयका कर्मचारीहरू प्रभावित भएका छन् । 


बुटवलबाट दाङको भालुवाङ राजधानी लैजान लागेको विरोधमा आन्दोलनमा उत्रिएका नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरू पनि धमाधम संक्रमित भएका छन् । आन्दोलनको नेतृत्व गरेका रुपन्देही कांग्रेसका सभापती तथा पूर्वमन्त्री अब्दुल रज्जाक, नेता काजिमान श्रेष्ठ, विष्णु थापा, तरुण नेता रमेश शाही पनि सक्रमित भएका छन् । आन्दोलनमा सहभागी भएका तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेलगायतका जनप्रतिनिधिहरू पनि कोरोना संक्रमित भएका छन् । 

आन्दोलनपछि बुटवल क्षेत्रमा कोरोना संक्रमणको दर ह्वात्तै वढेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए । गिरीले प्रदेशका मन्त्रालयहरू, संसद सचिवालय, नगरपालिका कार्यालयहरूमा संक्रमण देखिएपछि सिल गरेरै सबैको सामुहिक परीक्षण गरिरहेको जानकारी दिए ।
  
दिनैपिच्छे कोरोना संक्रमित बढे 

प्रदेश सभामा असोज १६ गते राजधानी सम्वन्धी प्रस्ताव दर्ता भएपछि भेला, वैठक र सडक आन्दोलन शुरू भयो । त्यसदिनसम्म रुपन्देहीमा कोरोना सक्रमितको संख्या २ हजार ७ सय ७९ थियो । एक सयभन्दा कम संख्यामै कोरोना संक्रमित थपिदै आएका थिए । असोज १७ मा ७७ जना कोरोना सक्रमित थपिए । असोज ३० सम्म आइपुग्दा त्यो संख्या बढेर रुपन्देहीमा दैनिक २ सय ६० भन्दा बढी पुगेको छ ।

जसले जिल्लामा संक्रमितको संख्या बढेर ५ हजारको हाराहारी पुगेको छ । राजधानीको सरगर्मीले संसद र सडकमा नाराजुलुस, दलहरूका छुट्टाछुट्टै वैठक र भेला हुन थाले । आन्दोलन र गर्मागर्मीले  स्वास्थ्य मापदण्ड पालना गर्ने विषय मजाक बन्यो । दैनिकजसो सडकमा नाराबजी, विभिन्‍न जिल्लाका सुरक्षाकर्मीहरू लस्करै तैनाथीले बुटवल मान्छेमय बन्यो । जसले कोभिड संक्रमणको दर बढेको चिकित्सकहरू बताउँछन् । लुम्बिनी प्रदेशिक अस्पतालका डाक्टर राजेन्द्र खनालले बुटवलमा कोरोनालाई मजाक बनाईएको टिप्पणी गरे । नागरिकहरलाई सचेतना फैलाउनेहरू नै नारा जुलुसमा उत्रिएपछि सामान्य नागरिकहरूलाई केही भन्‍नै नसकिने अवस्था आएको उनको भनाइ छ । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x