विश्वासको मत लिने शंकर पोख्रेलको तयारी
फाइल तस्बिर
बुटवल - संघीय सरकारले लुम्बिनीका प्रदेश प्रमुख हटाएपछि संकटमा परेको शंकर पोख्रेल नेतृत्वको सरकारले विश्वासको मत लिने भएको छ । यसअघि लुम्बिनी सरकारले मत लिन नपर्ने बताउदै आएको थियो ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मंगलबार पत्रकार सम्मेलन गर्दै केहीदिनमा सरकारले विश्वासको मत लिने जानकारी दिए। प्रतिपक्षीले उठाएको माग अनुसार नै सरकार वैधानिक ढंगले अघि बढ्ने उनले बताए । आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका चौधरीले वातावरण बनेपछि प्रदेश सभाबाट विश्वासको मत लिने जानकारी दिए।
जनता समाजवादी पार्टी जसपाको विवादमा आयोगले निर्णय गरे पनि लुम्बिनी प्रदेशमा खासै फरक नपर्ने चौधरीको भनाइ छ । ‘केन्द्रमा पार्टीका मुद्दा आदिले प्रदेशमा केही प्रभाव त पार्छ। तर हाम्रो प्रदेशमा निर्वाचन आयोग र अदालतको निर्णयले केही फरक पर्दैन’ उनले भने ‘प्रदेश सरकार आफ्नो गणितको हिसावले अघि बढ्न सक्छ।’
जसपाकी सांसद पुरमती ढेंगामरलाई सत्तापक्षले लुकाएको भन्ने आरोपमा कुनै सत्यता नभएको मन्त्री चौधरीले बताए । उनले सरकार गैरसंसदीय खेलमा नलाग्ने दाबी गरे। ‘यो गैरसंसदीय खेल हामीबाट हुँदैन। सत्तापक्षसँग सरोकारको विषय नै होइन,’ चौधरीले भने, ‘आफ्नो माननीयले के हुनुहुन्छ भन्ने कुरा खोजी गर्ने सम्बन्धित दलको कुरा हो।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया