लुम्बिनी

लुम्बिनी प्रदेशकी उद्योगमन्त्री पाण्डे गम्भीर बिरामी

इकागज |
साउन १३, २०७८ बुधबार ६:३३ बजे

बुटवल : लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे गम्भीर बिरामी भएकी छन् । उनका दुवै खुट्टा नचल्ने समस्या देखिएको छ । खुट्टा शिथिल हुनेक्रम बढेर अहिले कम्मरसम्म पुगेको र बोल्न सक्ने अवस्थामा नरहेको उनका आफन्तले बताएका छन् ।

आइतबारदेखि समस्या देखिएपछि मन्त्री पाण्डेलाई रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुँदै हाल नर्भिक अस्पताल काठमाडौंमा उपचाररत छिन् । 


उनलाई न्युरोसम्बन्धी रोग जिडिएस भएको चिकित्सकले बताएका छन् । उनलाई डाक्टर पंकज जलान र यादव भट्टको टिमले उपचार गरिरहेको छ ।  चिकित्सकका अनुसार कोभिडको खोप लगाएपछि उनमा यस्तो लक्षण देखिएको हो ।

डाक्टरका अनुसार कुनै व्यक्तिलाई खोप लगाइसकेपछि खुट्टाबाट शिथिल हुदै घाटीसम्म पुग्छ । घाटीबाट खुट्टामा झरेर मात्र रोग निको हुन्छ । कसै कसैलाई पक्षघात पनि हुन सक्ने डाक्टरहरुको भनाइ छ । उपचारमा कम्तीमा ६ महिनादेखि २ वर्षसम्म लाग्ने पनि अनुमान छ ।

जिडिएस रोगको उपचार पद्धति खर्चीलो छ । हाल दैनिक प्रति सुई १८ हजार खर्चेर दिनको ६ पटक सुइ लगाइएको छ । औषधीसहित अस्पताल खर्च दैनिक १ लाख ५० हजार रुपैया रहेको सांसद पाण्डेका पति एवं जसपा नेता नवराज लम्सालले बताए । 

मन्त्री बिरामी भएपनि अहिलेसम्म प्रदेश सरकारले बिरामीको उपचारमा सहयोग नगरेको उनले बताए । ‘स्वास्थ्य अवस्था गम्भीर छ । उपचार पद्धति महंगो छ । कसरी उपचार गर्ने हामी अन्योलमा छौं,’ मन्त्री श्रीमान लम्सालले भने ।
 


Author

थप समाचार
x