लुम्बिनी

चार दलीय गठबन्धनलाई सघाउने दुई सांसदलाई एमालेले थाल्यो कारबाही

इकागज |
साउन २९, २०७८ शुक्रबार १२:१८ बजे

बुटवल - नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई कारबाहीका लागि प्रक्रियाअगाडि बढाएको छ। चार दलीय गठबन्धनलाई सघाएको भन्दै एमालेले दुई सांसदलाई कारबाहीका लागि प्रक्रियाअगाडि बढाएको हो । नवलपरासीका सांसद अजय शाही र दाङकी सांसद विमला वलीले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेको भन्दै एमालेले कारबाही प्रक्रियाअघि बढाएको हो । 

शाहीलाई लिखित स्पष्टीकरण सोधिएको छ । वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाइएको एमाले सचेतक भूमिश्वर ढकालले बताए । सांसद वलीलाई यसअघि स्पष्टिकरण सोधिए पनि चित्तबुझ्दो जवाफ नआएपछि कारबाहीको प्रक्रियाअघि बढाएको ढकालले बताए । 


नवलपरासी पश्चिम–१ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका शाही चार दलीय गठबन्धनको सरकारमा विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।  उनले आफू स्वतन्त्र सांसद भएको भन्दै कारबाहीको अर्थ नभएको बताए । एमालेले कारबाही गर्ने तयारी गरेको वलीले यसअघि नै पत्रकार सम्मेलन गरी आफूले माओवादी रोजेको जानकारी गराएककी थिइन् । प्रदेश सभा सचिवालयमा उनको विवरणमा दल माओवादी केन्द्र उल्लेख छ ।  


Author

थप समाचार
x