लुम्बिनी

स्वास्थ्य सामग्रीसहित गाउँमा तिमिल्सिना

‘महाधिवेशनबाट असल नेतृत्व आउनुपर्छ’

इकागज |
भदौ २०, २०७८ आइतबार ७:२२ बजे

बर्दिया - वडा अधिवेशनमा सहभागी हुन गृह जिल्ला बर्दिया आएका नेपाली कांग्रेसको संगठन विभाका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले गुलरिया नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । नगरपालिका भित्रका स्वास्थ्यचौकी मार्फत आमनागरिकलाई वितरण गर्नेगरी तिमिल्सिनाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । 

तिमिल्सिनाले १० हजार पीस सर्जिकल माक्स, एक हजार पीस के ९५ माक्स, ५० लिटर सेनेटाइजर, २३० पीस फेससिल्ड नगरपालिकालाई हस्तान्तरण गरे । 
त्यस्तै एउटा अक्सिजन कन्सनट्रेटर पनि तिमिल्सिनाले नगरपालिकालाई हस्तान्तरण गरेका छन् । 


पार्टीको वडा अधिवेशनमा सहभागी हुन बर्दिया पुगेका तिमिल्सिनाले बाध्यात्मक परिस्थितिमा कांग्रेसले सरकारको नेतृत्व लिएको बताएका छन् । झण्डै दुई तिहाइको कम्युनिस्ट सरकारले लोकतन्त्रलाई समाप्त पार्न खोजेपछि संविधान र लोकतन्त्रको रक्षाका लागि सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको उनको भनाइ छ ।

तिमिल्सिनाले कम्युनिस्टकै नेताहरू आएर सभापति देउवालाई प्रधानमन्त्री बनिदिनु पर्‍यो भनेपछि आग्रह स्वीकारेको बताए । कांग्रेस नेतृत्वको सरकारले संविधानको रक्षा गर्ने र मुलुकलाई क्रमशः विकास र समृद्धिको बाटोमा लैजाने बताएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनले गाउँ, वडादेखि नै युवा र असल नेतृत्व आउने बताएका विभागका केन्द्रीय सदस्य तिमिल्सिनाले महाधिवेशनलाई मेलमिलाप र आपसी सद्भावका रुपमा अगाडि बढाउनुपर्ने बताए ।

यसअघि निमिल्सिनाले जिल्लाका विभिन्न विद्यालयमा गरिब विद्याथीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए । अझै स्वास्थ्य सामग्री वितरणको तयारीमा आफू रहेको उनले बताए ।
 


Author

थप समाचार
x