लुम्बिनीमा पनि आजै सरकार विस्तारको तयारी, को-को छन् मन्त्री बन्ने चर्चामा ?
बुटवल- झण्डै दुई महिनापछि लुम्बिनी प्रदेश सरकारले पनि पुर्णता पाउने भएको छ । साउन २७ गते मुख्यमन्त्रीको सपथ लिएका कुलप्रसाद केसीले शुक्रबार नै मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार शुक्रबार दिउँसो ४ बजे शपथ गराउने तयारी छ ।
सरकारमा नेकपा माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्माको मन्त्री बन्ने टुंगो लागेको छ । त्यस्तै माओवादीबाटै पाल्पाका तुलाराम घर्तीको पनि नाम चर्चामा थियो । उनी माओवादीका प्रमुख सचेतक हुन् । तर, माओवादी कोटामा परेको एक मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई परेपछि घर्तीको नाम अन्तिम समयमा सूचीबाट हटेको माओवादीका एक नेताले बताए ।
माओवादीले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको थियो । माओवादीका ४ मन्त्रालयमध्ये १ मन्त्रालय नेकपा (एस)ले पाउने छ । नेकपा (एस)बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछिन् । माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको छ ।
त्यस्तै ४ मन्त्रालय पाएको नेपाली कांग्रेसले पनि दुई मन्त्रीको नाम टुंगो लगाएको छ । एक मन्त्रीको नाम छान्न छलफल भैरहेको छ । कांग्रेसले पनि शुक्रबार बिहानसम्म सबैको नाम टुंगो लगाउने छ । कांग्रेसले पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको छ । शुक्रबार वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय गरेको छ ।
उर्जा जलस्रोत तथा सिंचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानको दाबी छ । त्यस्तै कांग्रेसले पाएको दुई राज्यमन्त्रीमा पनि अर्घाखाचीकी निर्मला क्षेत्री, कपिलवस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठको दाबी छ । १३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ । त्यस्तै स्वतन्त्रका अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया