लुम्बिनी

गुल्मीको मदानेर मालिकामा प्याराग्लाइडिङको परीक्षण

बिक्रम खड्का |
पुस ३, २०७७ शुक्रबार १२:६ बजे

बुटवल : गुल्मीको मदाने र मालिका गाउँपालिकाका दुई स्थानमा प्याराग्लाइडिङ सुरु हुने भएको छ ।  दुवै स्थानमा प्याराग्लाइडिङको सफल परीक्षण भएको छ । स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले मालिका–४ को देउराली र मदान–२ को कसुरेडाँडामा प्याराग्लाइडिङ परीक्षण गरेको हो ।

स्काई बर्ड प्याराग्लाइडिङ पोखराका पाइलट भुवन गाहाले परीक्षण गरेका मदाने र मालिकाका दुवै स्थान व्यावसायिक उडानका दृष्टिले महत्वपूर्ण भएको बताए । दुवै स्थान लामो र छोटो दुरीको प्याराग्लाइडिङका लागि राम्रो भएकाले अहिले छोटो दुरीबाटै उडान गर्न सुझाव दिए । उनले पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाईमा मात्रै भएकाले कसुरेडाँडा र देउराली संराङकोटभन्दा राम्रो भएको बताए । 


गुल्मीको मालिका गाउँपालिका ४ अर्खाबाङको देउरालीबाट प्याराग्लाइडिङ गरेको देखेर स्थानीय खुसी भएका छन् । भिरबाट मान्छे नै आकाशमा उडेको स्थानीयले कहिल्यै देखेका थिएनन् ।

विकट गाउँमा प्याराग्लाइडिङ होला भनेर स्थानीयले कल्पना पनि गरेका थिएनन् । अग्लो भिरबाट उडेर मनोरञ्जन गरिने शाहसिक खेल पछिल्लो पुस्ताको रोजाइ बन्ने गरेको छ । यो खेलबाट पोखरा, स्याङजा र लमजुङ लगायतका स्थानमा राम्रो आम्दानी समेत भएका छन् । 

गुल्मी पश्चिमका अग्ला पहाडहरू प्याराग्लाइडिङका लागि बाह्रै महिना उपयुक्त छन् । धेरै अग्ला भएकाले उडेर धेरै ठाउँमा पुग्न सकिने र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा प्याराग्लाइडिङ पर्न सक्छ ।

मदाने र मालिकाका अधिकांश गाउँ सालझण्डी–ढोरपाटन सडकखण्डमा पर्दछन् । यो सडकले तराईदेखि हिमाल जोड्छ । मदाने गाउँपालिका २ को कसुरे र मालिका गाउँपालिका ४ को देउराली छोटो दुरीमा पर्ने भएकाले दुई मध्ये एक स्थानमा व्यावसायिक प्याराग्लाइडिङको संभावना भएको गुल्मीमा लामो समय काम गर्दै आएका लमजुङका शरद श्रेष्टले बताए ।

यी स्थान सालझण्डी–ढोरपाटन सडकखण्डको नजिक र गुल्मीसहित अर्घाखाँची, बाग्लुङ र प्युठानका महत्वपूर्ण ठाउँमा प्याराग्लाइडिङ गर्न सकिने भएकाले व्यावसायी संचालनमा कुनै समस्या नहुने श्रेष्ठको भनाइ छ । 

अहिलेसम्म मालिका गाउँपालिका र मदाने गाउँपालिकाले प्याराग्लाइडिङको परीक्षण गरेका छन् । मालिका गाउँपालिका प्रमुख रितबहादुर थापाले अब भौतिक संरचना निर्माण र अरु स्थानीय तहसंगको समन्वयमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ संचालन गर्ने योजना बनाउने जानकारी दिए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x