लुम्बिनी

बैशाखमा निर्वाचन हुन सक्दैन : खाण

इकागज |
पुस १४, २०७७ मंगलबार १४:६ बजे

बुटवल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाणले आगामी बैशाखमा मध्यावधि निर्वाचन हुनै नसक्ने दाबी गरेका छन् । प्रेस युनियन रुपन्देहीले मँगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता खाणले सरकार आफै‌ निर्वाचन गराउने पक्षमा नरहेकाले बैशाखमा निर्वाचन सम्भव नभएको दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशताको बाटोमा अघि बढेको भन्दै प्रतिनिधि सभा विघटन गरेर सर्वसत्तावाद लाद्न खोजेको उनको भनाइ छ । संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई राष्ट्रपतिले विचारै नगरी स्वीकृत गर्नुले सर्वसत्तावाद हावी भएको बताए । प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिकोमा लैजानु र विचारै नगरी स्वीकृत हुनु असंवैधानिक कदम भएको बताउँदै उनले नेपाली कांग्रेसले संविधानको पक्षमा आवाज उठाउने बताए ।


‘प्रधानमन्त्रीले दिउसै रात पार्नुभयो र संविधानको बर्खिलाप जानुभयो ।’ नेता खाणले भने ‘एक दलीय सर्वसत्तावाद ल्याउने र सरकारले गरेका ठूला–ठूला भ्रष्टारहरू लुकाउन संसद विघटन गरियो,’ उनले भने ।

संसदमा उठ्ने भ्रष्टारका मुद्दाहरुमा प्रश्न उठ्ने र जवाफ दिन सक्ने अवस्था नभएपछि संसद विघटन गरिएको उनको आरोप छ । ‘प्रधानमन्त्रीले सुरुदेखि नै संविधानको बर्खिलाप काम गर्दै आउनु भएको छ’ नेता खाणले भने ‘सबैभन्दा पहिले प्रेस, मानव अधिकार र राष्ट्रिय सुरक्षा परिषदमा हस्तक्षप भयो । प्रधानमन्त्री आफै संविधान तोफोड र तोडमोडमा लाग्नु दुर्भाग्यपूर्ण हो ।’


Author

थप समाचार
x