पानी नपर्दा उर्वर भूमि बाँझै
पर्वत : झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ । गत असोजको दोस्रो सातादेखि वर्षा नभएपछि हिउँदे बाली लगाएका कृषक चिन्तित बनेका छन् ।
पर्वतका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकाशे पानीको भरमा हिउँदे खेती गर्दै आएका कृषकको गहुँ, जौँ, फापर र तोरीजस्ता बालीनाली प्रभावित भएका छन् भने वर्षा नभएकै कारण आलु तथा अन्य तरकारी खेतीमा समेत डढेलो तथा विभिन्न प्रजातिका किराको प्रकोप देखिन थालेको छ ।
गत असोजको अन्तिम सातादेखि नै वर्षात् हुनसकेको छैन । पानी नपरेपछि उर्बरा भूमि बाँझै छोड्नुपर्ने अवस्था आएको पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गकी लीलादेवी पौडेल बताउँछन् ।
पर्वतको कूल हिउँदे खेतीयोग्य जमिनमध्ये ३७ प्रतिशत मात्रै सिञ्चित क्षेत्र रहेको छ भने अन्य ६३ प्रतिशत खेतीयोग्य जमिन आकाशे पानीकै भरमा रहेको छ । अहिले हिउँदमा वर्षा नहुँदा कृषक मर्कामा परेको जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापा जानकारी दिए ।
गत वर्षको तुलनामा यस वर्ष हिउँदे बाली उत्पादनमा २० प्रतिशतभन्दा बढीले ह्रास आउने देखिएको उनले बताए । विशेषगरी पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशिला र विहादी गाउँपालिकामा यसको प्रभाव देखिएको छ ।
यस क्षेत्रमा धान खेती थन्क्याएसँगै गहुँ, आलु, तोरी, फापरलगायतका हिउँदे बाली लगाउने गरिन्छ । पैञ्यु गाउँपालिका र मोदी गाउँपालिका केही क्षेत्र भने सिँचाइ सुविधा भएका कारण हिउँदे बाली सोचेअनुरुप उत्पादन हुने लक्ष्य लिइएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया