लुम्बिनी

वडाध्यक्षकी छोरी जिस्काएपछि...

बिक्रम खड्का |
कात्तिक १३, २०७७ बिहीबार ११:१४ बजे

बुटवल : छोरी जिस्काएको निहुँमा जनप्रतिनिधिले नै एक युवालाई चरम यातना दिएको घटना सार्वजनिक भएको छ । रुपन्देहीस्थित सम्मरीमाई गाउँपालिका–६ का वडाध्यक्ष सत्यनारायण केवटले छोरी जिस्काएको निहुँमा बब्लु केवटलाई चरम यातना दिएका हुन्।

वडाध्यक्ष केवटको नेतृत्वमा बुधबार बिहान २२ वर्षे केवटलाई कालोमोसो दलेर कुटपीट गर्दै गाउँसमेत डुलाइएको थियो । घटनाको वास्तविकता नबुझी वडाध्यक्षले न्यायिक प्रक्रियाविपरीत कानुन हातमा लिएको भन्दै यो घटनाको आलोचनासमेत भएको छ ।  


वडाध्यक्ष सत्यनारायण र युवक बब्लुको घर एउटै टोलमा छ । टोल मात्र होइन, उनीहरूको घरसमेत नजिकै छ । सत्यनारायणकी छोरीले बुधबार एउटा सानो बच्चा खेलाइरहेको अवस्थामा यो घटना सुरु भएको थियो । 

बच्चा खेलाइरहेका बेला ती बच्चालाई आफूले म्वाइँ खाएको बब्लुले बताएका छन् । तर, सत्यनारायणकी छोरीले भने आफूलाई पनि ‘किस’ गरेको आरोप बब्लुमाथि लगाएकी छन् । 

कुटपीटका कारण बब्लुको कान, नाक र मुखबाट रगत आएको स्थानीय राजेश वरईले बताए । कुटपीटमा परेका केवट सम्मरीमाई गाउँपालिका ६ पचपेडवाका बासिन्दा हुन् । उनलाई कालोमोसो दलेर, जुत्ताको माला लगाएर पिट्दै गाउँ घुमाएको वरईको भनाई छ ।  

कुटपीट गर्दै गाउँ डुलाइरहेको अवस्थामा बब्लु

स्थानीयहरू भने वडाध्यक्षको डरले केही बोल्न चाहँदैनन् । वडाध्यक्षले आफ्नो पदको दुरुपयोग गरेर आफै सजाय दिइरहँदा नजिकै रहेको प्रहरी भने बेखवर देखियो । प्रहरीलाई जानकारी दिएको लामो समयपछि मात्र युवकको उद्धार गरिएको स्थानीयहरू बताउँछन् । 

ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक अमृत भण्डारीले घटनाको पुष्टि गरे । वडाध्यक्ष सत्यनारायण केवट र युवक बब्लु केवटलाई सोधपुछ गरी छाडिएको जानकारीसमेत उनले दिए । 

वडाध्यक्ष केवटले आफ्नी छोरीमाथि दुर्व्यवहार भएको सुनेपछि रीसको झोकमा कालोमोसो लगाएको स्वीकार गरे । स्थानीयका अनुसार वडाध्यक्ष केवटले यसअघि पनि यसैगरी अरु व्यक्तिहरूलाई कुटपीट गरेका थिए । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x