घरमै पुगेर भत्ता वितरण
बाँके : बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरदैलोमा वितरण गर्ने गरेको छ । अन्य पालिकाहरुले बैंकको माध्यमबाट भत्ता वितरण गरिरहेको बेला सो पालिकाले भने घरमै पुगेर वितरण गरेको हो । बैंकमा पुगेर भत्ता लिन वृद्ध, वृद्धा रु अपांगता भएका व्यक्तिलाई सास्ति भइरहको बेला घरमै पुगेर वितरण गर्दा सहज भएको छ ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले घरमै पुगेर भत्ता वितरण गर्दा स्थानीयहरु दंग पर्ने गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक अन्तरगत साउनदेखि कार्तिकसम्मको सामाजिक सुरक्षा भत्ता वितरण गर्न धेरै पालिकाहरुले ढिलाई गरिरहेको बेला डुडुवा गाउँपालिकाले भत्ता वितरण सुरु गरिसकेको छ । चाडपर्वलाई लक्षित गरि गाउँपालिकाका ६ वटै वडामा शुक्रबारदेखि सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण सुरु गरिएको हो ।
अध्यक्ष चौधरीले वडा नम्बर २ का जेष्ठ नागरिक बदलु शर्मालाई शुक्रबार उनकै घरमा पुगी भत्ता वापतको रकम हस्तान्तरण गर्दै शर्मा मख्ख थिए । उनले अध्यक्ष चौधरीलाई धन्यवाद दिए । घरदैलोमा पुगेर भत्ता वितरणमा संलग्न भइरहको बताउँदै चौधरीले कोभिड-१९ र चाडपर्वका बेला उत्पन्न आर्थिक संकटको अन्त्य गर्न प्रदान गरिएको भत्ताले केही राहत दिने विश्वास व्यक्त गरे । अध्यक्ष चौधरीले आशिंक अपांगता भएकाहरुलाई आर्थिक सहयोग गाउँपालिकाले आफ्नै स्रोतबाट उपलब्ध गराएको भन्दै जेष्ठ नागरिकको पुर्ण रुपमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न लागेको जानकारी गराए ।
प्रत्येक वडामा ३ जनाका दरले ६ वटै वडामा १८ वटा टोलीमा ७० जना कर्मचारी खटेर घरदैलोमा पुगेर भत्ता वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको ६ वटै वडामा जेष्ठ नागरिक, बालबालिका, दलित, अपांग, एकल महिला, विधुवा गरि तीन हजार नौ सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।
७० वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना तीन हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना दुई हजार, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना तीन हजार, अपांगता भएका व्यक्ति (ख) वर्गलाई प्रतिमहिना एक हजार छ सय, जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना चार सयका दरले रकम वितरण गरिने गाउँपालिकाले जनाएको छ । यसैगरि अपांगता भएका व्यक्ति (ग) वर्गलाई प्रतिमहिना पाँच सय र (घ) वर्गलाई चार सय प्रतिमहिनाका दरले गाउँपालिकाले आफ्नै स्रोतबाट वितरण गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया