लुम्बिनी

मर्चवारमा कायमै छ ‘गुण्डाराज’

विद्यालयमै अध्यक्षद्वारा शिक्षकको ‘रामधुलाइ’

बिक्रम खड्का |
फागुन १०, २०७७ सोमबार १६:५२ बजे

बुटवल 
घटना १ 
रुपन्देहीको मर्चवारस्थित सरस्वती आधारभूत विद्यालयमा फागुन ३ गते सरस्वती पूजा तथा सास्कृतिक कार्यक्रमको तयारी चलिरहेको थियो । शिक्षक, विद्यार्थी र कर्मचारीहरू ४ गतेको कार्यक्रमका लागि आ-आफ्नो जिम्मेवारीअनुसार काममा खटिएका थिए । विद्यालयका प्रध्यानाध्यापक रामप्रसाद हरिजन आवश्यक बन्दोवस्ती समान लिन भैरहवा आएका थिए । बिहान ११ नबज्दै काममा खटिएका विद्यार्थी र शिक्षकहरूबीच एक्कासी भागदौड मच्चियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदप्रसाद चमार केही स्थानीय युवाहरू लिएर विद्यालयभित्र प्रवेश गरेको केही समयपछि भागदौड मच्चियो । अध्यक्ष चमार र उनीसंगै आएका ४ जना युवाहरूले विद्यालयका शिक्षकहरूलाई लछार पछार गर्दै मुक्का हाने । विद्यार्थीहरू बचाऊ बचाऊ भन्दै यता उता डौडिरहेका थिए । क्षणभरमै विद्यालयका दुई जना शिक्षक रक्ताम्य बने । केही समयपछि प्रहरी पनि आइपुग्यो । तर कसैलाई पक्राउ गरिएन । स्थानीय प्रहरीले घाइतेको उपचारपछि आउन भनेर घरमा पठायो । 


शिक्षकहरू प्रेमशंकर यादव र रामकिसन कुर्मीलाई विद्यालयका छात्रा जिस्काएको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चमार र उनीसंग आएका युवाहरूले कुटपिट गरेका हुन् । तर शिक्षकद्वयले छात्रालाई जिस्काएको भन्‍ने आरोप गलत भएको बताएका छन् ।  

घटना २
माघ ६ गते मर्चवारकै राजेन्द्र यादवको शव आगो लगाएर जलाएको अवस्थामा भेटियो ।  यादवको हत्यामा सम्लग्‍नहरू मध्येका अधिकांश पक्राउ परेका छन् । हत्यामा संलग्‍न ८ जनामध्ये आरोपित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू घटनाका योजनाकार र परिवारका सदस्य हुन् ।

मृतक यादवलाई उनकै भाइ, काका र काकाका सम्धीको समेत संलग्‍नतामा हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए । उनकाअनुसार सम्पत्तिका लागि यादवको हत्या भएको हो । 

अपराधमा संलग्‍न मध्यस्तकर्ता लङगारे भन्‍ने ईन्द्रजित यादव र सोनु मुराउ फरार छन् । मृतकका काकाले मान्छे मार्ने मध्यस्तकर्तालाई २५ लाख अथवा १ कठ्ठा जग्गा दिने शर्तमा हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । 

घटना ३ 
कार्तिक ९ गते रुपन्देहीको मर्चवारका एक वडाध्यक्षले आफ्नो छोरी जिस्काएको  आरोप लगाउदै स्थानीय युवालाई कुटपिट तथा कालोमोसो दले । रुपन्देहीको मर्चवार सम्मरीमाई गाउँपालिका–६ का अध्यक्ष सत्यनारायण केवटले कानुन हातमा लिएर कुटपिट तथा कालोमोसो दले । 

उनले छोरी जिस्काएको भन्दै युवालाई चरम यातना दिए । यतिमात्र होइन उनले ती युवालाई २ गाउँ घुमाए । सम्मरीमाई गाउँपालिका-६ पचपेडवाका २२ वर्षीय बब्लु केवटलाई वडाध्यक्षले कालोमोसो दलेर, जुत्ताको माला लगाएर पिट्दै गाउँ घुमाएका हुन् । तर यो घटना आँखैअगाडि देखेका स्थानीय कसैले बोल्ने हिम्मत गरेनन् । 
वडाअध्यक्षले आफ्नो पदको दुरुपयोग गर्दै आफैं युवकलाई सजाय दिँदा नजिकै रहेको प्रहरीलाई भने यस बारे जानकारी नै थिएन । स्थानीयहरूले प्रहरीलाई जानकारी दिएपछि मात्र युवकको उद्दार गरिएको थियो । 

माथी उल्लेखित तीन घटना प्रतिनिधि घटना मात्रै हुन् । यस्ता घटना मर्चवारमा दिनहुँ घट्ने गरेका छन् । मर्चवार क्षेत्रमा दण्डहिनता बढ्दै गएको स्थानीय बताउँछन् । सुरक्षाकर्मीको उपस्थिति रहेको ठाउमै स्थानीयहरू आफैं दण्ड दिन उद्दत हुँदा कानूनी राज्यको उपहास भएको स्थानीयको भनाइ छ । 

मर्चवारका स्थानीय जनप्रतिनिधि, तथा अगुवाहरू आफै सजाय दिन थालेपछि मर्चवारका स्थानीय थप त्रसित भएका छन् । ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक अमृत भण्डारीले घटनाको विषयमा अहिले किटानी जाहेरी आएकोले अब अनुसन्धान अघि बढाउने बताछन् । 

उनले मर्चवार क्षेत्रमा कानुन हातमा लिने, उदण्डता प्रर्दशन गर्नेक्रम भैरहेको भन्दै त्यसलाई निर्मुल पार्नेकाममा सबैको साथ आवश्यक भएको बताए । उनले भने, ‘गरिबी, अशिक्षित समृुदाय भएकोले त्यसको फाइदा लिएर कानुन हातमा लिएर मनलाग्दो काम हुने गरेको छ । यसलाईलाई रोक्न हामीले हाम्रो सबै साधनस्रोत प्रयोग गरेर लाग्‍ने छौं ।’ 

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रविण पोख्रेल मर्चचारलाई सुधार गर्नै नसकिएको बताउछन् । उनले भने, ‘अधिकांश तस्करहरू छन् । उनीहरू समान ओसारप्रसार गर्ने, प्रहरीको आखाँ छलेर अपराध गर्ने गरेका छन् । अझै कठोर भएर हामी प्रस्तुत हुने छौं ।’ 

प्रहरीले न जनप्रतिनिधीलाई कानुनी कठघरामा उभ्याउन सक्यो न त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नै कानुनी दायरामा आएका छन् । मर्चवारका अधिकांश घटनामा कानुनी उपचारमा जानुको सट्टा गाउँमै मिलापत्र हुने गरेका छन् । तर, मिलापत्र गराउनु नै गलत भएको स्थानीयको टिप्पणी छ । स्थानीय अगुवा रामविकास चौधरी भन्छन्, ‘दोषीलाई कानुनअनुसारको सजाय दिने हो भने यस्ता अपराधका घटना विस्तारै काम हुने छन् ।’ 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x