लुम्बिनी

किन हुन्छ सुनौली नाकामा दैनिक प्रर्दशन ?

जनजीवन सहज भए पनि सीमा नाकाका विषयमा सरकार मौन

बिक्रम खड्का |
फागुन ११, २०७७ मगलवार १६:३८ बजे

बुटवल : नेपालमा काभिड-१९ को जोखिम बढेसंगै सरकारले २०७६ चैत्र दोस्रो हप्ताबाट लकडाउन गर्‍यो । सीमा नाकाहरू सिल गरिए । यसको प्रभाव देशभरका सीमा नाकाहरूमा देखियो ।

विस्तारै लकडाउन खुकुलो भयो, देशमा राजनीतिक आन्दोलनहरूका लागि सभा जुलुसहरू भए । अहिले त कसले कति मान्छे जम्मा गर्ने अघोषित प्रतिस्पर्धा चलेको छ । रुपन्देहीमा मात्र पछिल्लो दुई महिनामा देशका सबै ठूला शक्तिले हजारौं मान्छे भेला गराएर प्रर्दशन गरे । 


नेकपा दाहाल–नेपाल समूहले माघ १५ गते  बुटवलमा, नेकपा ओली समूहले फागुन १ गते बुटवलमा र नेपाली कांग्रेसले फागुन ३ गते भैरहवामा हजारौं हजार मान्छे भेला गराएर सभा गरे । तीनै सभामा सहभागी हुनेदेखि प्रत्यक्ष अवलोकन गरेका रुपन्देहीका व्यवसायीहरू भने कोभिडकै कारण नाका नखुलाएको भन्दै आक्रोशित छन् । पर्यटन तथा सीमा नाका लक्षित व्यापार व्यवसाय गर्नेहरूले आजभोलि दैनिक जसो रुपन्देहीको वेलहिया नाका र दशगजा क्षेत्रमै विरोध प्रर्दशन गर्दै आएका छन् । 

पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको वेलहिया–सुनौलीनाका प्रर्दशनका कारण अस्तव्यस्त बन्दै आएको छ । मालवाहक गाडीहरू आवत-जावत भए पनि पर्यटकहरू आवत-जावत गर्न नपाएको भन्दै उनीहरूले पुरानो निर्णय पुर्नविचार गर्नु पर्ने माग गरेका छन् । 

व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारी कोभिडको कारण देखाएर नाकामा कडाइ गर्नु आवश्यक नभएको बताउछन् । उनले भने, ‘हिजो नाकामा कडाइ गरिए पनि अब विस्तारै जनजीवन सहज भएकाले पर्यटकहरूलाई सुनौलीबाट प्रवेश दिनुपर्छ । यो निर्णय सरकारले नगरे चरणवद्ध आन्दोलन गरिने छ ।’

होटल, रेष्टुरेण्ट, हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिहरू सञ्चालनका लागि सरकारले खुल्ला गरिसकेको छ । तेस्रो मुलुका पर्यटकहरूको आगमन अत्यन्त न्यून रहेको समयमा स्थलमार्ग हुँदै पर्यटक भित्रिने नाकामा स्वास्थ्य सतर्कता अपनाई खोल्न सके पर्यटकीय गतिविधि बढ्ने तर्क लुम्बिनी प्रदेशसभाका सदस्य सन्तोष पाण्डेको छ । व्यापारीहरूको धर्नामा बसेर ऐक्यवद्धता जनाएका सांसद पाण्डेले सरकारले यस्ता विषयमा ध्यानै नदिएको गुनासो गरे । सरकारको ध्यानाकर्षण गराउन व्यवसायीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई यस अघि ज्ञापनपत्र बुझाइसकेका छन् । 

कोभिडपछि भारतीय नागरिकहरू नेपाल प्रवेश गर्दा कडाइ गरिएको छ भने पैदलमार्ग हुँदै नेपाल आउने तेस्रो मुलुकका पर्यकटहरूले पाउने अनअराईभल भिसा पनि बन्द छ । जसका कारण उनीहरू नाकासम्म आएर फर्किने गरेका छन् । सरकारले गत चैत्र महिनामै यस्ता भिसाहरू दिन बन्द गरेको थियो । 

वेलयहियास्थित अध्यागमन कार्यालयका प्रमुख गिरिराज खनालले सरकारले बन्द गरेको कुरा आफूहरूले दिन नसक्ने बताउछन् । उनले सरकारले स्वास्थ्य मापदण्डमा कडाइ तथा सीमा नाकामै पाउने भिसा बन्द गरेको र त्यसमाथि पुर्नविचार गरेको निर्णय नआउदासम्म आफूले केही गर्न नसक्ने बताए । उनले भने, ‘आन्दोलन दैनिक भैरहेको सुनेको छु । तर उहाँहरूलाई स्थानीय स्तरमा केही गर्न सकिदैन भन्ने थाहा छ । माथिबाट जे आदेश छ त्यो भन्दा बढी गर्न सकिने आवस्था छैन । 

उता भारतीय व्यापारीहरू पनि दशगजा क्षेत्रमै आएर प्रदर्शन गर्ने गरेका छन् । उनीहरूले नाकामा चलहपहल नभएपछि व्यापार नभएको भन्दै नेपाली व्यवसायीहरूलाई साथ दिदै संयुक्त प्रर्दशनमा सहभागी भएका हुन् । नव व्यापार मण्डल उत्तरप्रदेशका अध्यक्ष सम्साद खानले नाका सहज रूपमा सञ्चालन हुनुपर्ने माग गरे । उता भारतीय पक्षले पनि नाका पूर्णरूपमा खुल्ला भने छैन । सुरक्षा निकायहरूले दुख दिने गरेको नेपाली पक्षको भनाइ छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x