लुम्बिनी

स्थानीयले भत्‍काएको मञ्‍च रातारात निर्माण, सुरक्षा पहरामा अर्थमन्त्रीले शिलान्यास गर्दै

बिक्रम खड्का |
फागुन २१, २०७७ शुक्रबार १०:२६ बजे

बुटवल : रुपन्देहीको मोतिपुर बन्‍ने भनिएको औद्योगिक करिडोरको विषयमा स्थानीयहरुको विरोध कायमै रहे पनि सरकारले सुरक्षा पहरामै शिलान्यास कार्यक्रम अघि बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज दिउँसो शिलान्यास गर्ने करिडोरमा बनाइएको मञ्च तथा शिला स्थानीयले बिहिबार भत्काएका थिए । त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरि रातारात निमार्ण गरिएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकका अध्यक्ष नन्दकिशोर बस्‍नेतले कतिपयले विरोध गरेपनि शिलान्याशको कार्यक्रम निधारित समयमै हुने बताए । उनले भने 'यस अघि भत्काईएको मञ्च निर्माण भईसकेको छ, शिलान्यास हुन्छ काम पनि अगाडी बढ्छ । कसैका गुनासा भए सम्बोधन हुन्छ तर बिकासमा अवरोध गर्नु राम्रो होइन ।'


स्थानीयले हिजो दिउँसो भत्काई दिएको औद्योगिक करिडोरको कार्यक्रम स्थलको मञ्च भने आयोजनाले पुनः निर्माण गरेको छ । स्थानीयको समूहले आफुहरुको जग्गामा करिडोर बनाउन लागेको भन्दै शिलान्यास समारोहका लागि तयार गरिएको मञ्‍च र शिलालेख स्तम्भ भत्काएका थिए ।

बिहीबार दिउँसो पुगेको समूहले आयोजनाका कर्मचारी तथा मञ्‍च निर्माण गरि रहेका कामदार माथी हुलहुज्जत गरि कार्यक्रमका लागि तयार गरिएको टेण्ट भत्काई दिएको आयोजनाले जनाएको छ । करिब १ हजार बिगाह क्षेत्रफलमा औधोगिक क्षेत्र बनाउने तयारी गरिएको उक्त करिडोरमा झण्डै ३ सय घर परिवार प्रभावित भएको पीडित मध्येका बाबुराम घिमिरेले बताए । उनले भने 'अहिले सुरक्षाकर्मी लिएर शिलान्यास त गरिएला तर हामीलाई घरवार बनाएर उद्योग कसरी चल्न सक्ला त्यो पनि हामीले हेर्ने छौँ ।'


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x