लुम्बिनीमा काँग्रेसले बनायो उम्मेदवार छनोटको मापदण्ड
बुटवल - सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले उम्मेदवार छनाेटको लागि मापदण्ड बनाएको छ । सरकारले आगामी बैशाख ३० गते स्थानीय चुनावको मिति तय गरेको छ।
नेपाली काँग्रेस प्रदेश समितिको कार्यसमिति बैठकले स्थानीय आवश्यकताको आधारमा एकल वा अन्य राजनीतिक दलसँग सहकार्य गर्नेगरी उम्मेद्वार छनौटको लागि मापदण्ड बनाएको हो । प्रदेश समितिले गरेका निर्णय सार्वजनिक गर्नका लागि बिहिबार प्रदेश पार्टी कार्यालय बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले एक्लै भएमा प्रदेशमा काँग्रेसले बहुमत ल्याउने र अधिकतम धेरै उम्मेदवारलाई जिताउनको लागि स्थानीय आवश्यकताअनुसार अन्य दलसँग तालमेल गर्नेगरी प्रदेश समितिले रणनीति अख्तियार गरेको बताए ।अन्यदलसँग गठबन्धन गर्ने/नगर्ने अधिकार स्थानीय समितिलाई रहने र स्थानीय समितिले सत्ता गठबन्धन बाहिरका अन्य दलसँग पनि सहकार्य गर्न सक्ने उनले जानकारी दिए ।
त्यस्तैगरी स्थानीय तहको निर्वाचनमा निश्चित विधि र मापदण्डका आधारमा टिकट वितरण गर्ने पनि बैठकले निर्णय गरेको छ । पार्टीमा गरेको योगदान, जनाधारको मूल्यांकन, कार्यक्षमता तथा कार्यकुशलता, दक्षता सहितको समावेशीतालाई प्राथमिकता, क्रियाशीलता, निरन्तरता, निष्ठा र त्याग, प्रतिस्पर्धाको समेत मूल्यांकन गरिने सभापति पुनले बताए । त्यस्तै प्रतिस्पर्धी पार्टीले कस्तो व्यक्तिलाई उम्मेदवार बनाउँछ भन्ने कुरालाई समेत अध्ययन गर्ने र अवसरहरुको उचित र न्यायिक वितरण गर्नेगरी पार्टीले उम्मेदवार बनाउने बताए ।
सभापति पुनले पार्टीका नेता कार्यकर्तालाई टिकट खोज्दै नेताको पछि लाग्न भन्दा मतदातासँग जान आग्रह गरे । पत्रकारहरुको जिज्ञासामा उनले केन्द्रले गर्ने निर्णय प्रदेशलाई बाध्यकारी नभएको र केन्द्रलाई समेत चित्त बुझाएर स्थानीय परिवेशलाई हेरेर फरक फरक दलसँग चुनावी गठबन्धन गरिने बताए । अहिले काँग्रेसका उम्मेदवारलाई हार्ने छुट नभएको बताउँदै उनले चुनाव जित्ने गरी प्रचारमा लाग्न पनि आग्रह गरे।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया