लुम्बिनीमा सत्ता गठबन्धनको बैठक: १०९ वटै पालिकामा संयुक्त संयन्त्र बनाउने
बुटवल - लुम्बिनी प्रदेशका सबै १०९ वटै पालिकामा सत्ता गठबन्धनले संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । गठबन्धन दलका प्रदेश स्तरको बैठकले संयन्त्र निर्माण, नियमित बैठक बस्ने तथा मत विश्लेषणसहितको रिपोर्ट पेश गर्ने निर्णय गरेको छ ।
कांग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुनले केही दिन भित्रैमा गठबन्धनका दलहरुले मत विश्लेषणको रिपोर्ट पेश गर्ने निर्णय भएको बताए । आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गठबन्धनको आवश्यकता र महत्वका बारेमा सभा गर्ने निर्णय पनि गरेको छ ।
एकै ठाउँमा गर्ने की ठाउँ ठाउँमा गर्ने भन्ने बारेमा टुंगो लागि नसकेको भन्दै पुनले यस बारेमा छलफल गरेर टुंगोमा पुगिने बताए ।
बुटवलमा बुधवार बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गरेको छ । बैठकमा नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, उपसभापति भुवन श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नेता चक्रपाणी खनाल वलदेव, माओवादीकै लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपालका नेता सहसराम यादव, सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादव, राष्टिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलम लगायतको सहभागिता थियो ।
बैठकपछि कांग्रेसका सभापति पुन, माओवादी केन्द्रका बराल, जसपाका यादव तथा राजमोका आलमद्धारा जारी संयुक्त विज्ञप्तिमा विभिन्न ६ वटा निर्णय गरिएको उल्लेख छ ।
यी हुन गठबन्धनको बैठकले गरेका निर्णय
१) तत्काल सबै स्थानीय तहमा गठबन्धनको संयन्त्र निर्माण गर्ने, नियमित बैठक वस्ने र मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने ।
२) स्थानीय पालिका र जिल्लाहरुले गरेका सहमतिहरुलाई सकारात्मक रुपमा ग्रहण गर्ने ।
३) कुनै पालिकामा समस्या रहेमा प्रदेश तहबाट कार्यदल निर्माण गरी स्थलगत अनुगमनका आधारमा समस्याको समाधान गर्ने ।
४) प्रदेश र जिल्लामा आवश्यकता अनुसार गठवन्धन दलको नियमित बैठक बस्ने ।
५) गठबन्धनको आवश्यकता र महत्वबारेमा जनस्तरमा बोध हुने गरी प्रदेश स्तरीय संयुक्त सभाको आयोजना गर्ने ।
६) हाल सम्म जिल्लाले गरेको गठबन्धनको सकारात्मक पहलहरुलाई स्वागत सहित अझै प्रभावकारी ढंगले निष्कर्षमा पुर्याउन आग्रह गर्दछौं ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया