लुम्बिनी

लुम्बिनीमा 'कम्युनिकेसन ग्याप'ले एकिकृत समाजवादी छुट्‍यो, सत्ता गठबन्धनको पाँचै दलले तालमेल गर्ने

इकागज |
चैत २५, २०७८ शुक्रबार ८:५८ बजे

बुटवल- लुम्बिनी प्रदेशमा पाँच दलीय सत्ता गठबन्धनलाई स्थानीय चुनावमा मजबुत बनाउने निर्णय भएको छ । गत बुधबार नेकपा एकीकृत समाजवादीबिनाको बैठक र सार्वजनिक विज्ञप्तिलाई विपक्षीले गठबन्धनमा खटपट भनेर समाचार सार्वजनिक भएपछि बिहीबार साँझ पुनः पाँच दलको बैठक बसेर निर्वाचनमा तालमेल गर्ने र गठबन्धनलाई मजबुत बनाउने निर्णय भएको हो ।

गठबन्धनमा कुनै खटपट नरहेको र बुधबारको बैठकमा प्राविधिक कारणले मात्र नेकपा एकीकृत समाजवादी छुटेको नेपाली काँग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले बताए । नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले पनि ‘कम्युनिकेसन ग्याप’ हुँदा आफूहरू बुधबारको बैठकमा छुटेकाले बिहीबार साँझ पुनः बैठक बसेर तालमेल गरेर जाने निर्णय गरेको बताए । इकागज 'लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादी एक्लियो' भन्‍ने शीर्षकमा शुक्रबार समाचार प्रकाशित गरेको थियो ।


बैठकमा पाँच वटै दलका नेताहरूले स्थनीय तहको निर्वाचनको लागि सबै जिल्लाको आ–आफ्नो दलको मतको धरातलीय अवस्था चैत २६ सम्म तयार गरी गठबन्धनको संयन्त्रमा ल्याउने र २७ गते अर्को बैठक बस्ने निर्णय भएको छ ।

चैत २७ गते बस्ने बैठकले प्रदेशस्तरीय चुनावी कार्ययोजना पारित गर्ने नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले बताए । प्रदेशका १०९ स्थानीय तहमै मत विश्लेषणका आधारमा सम्मानजनक रूपमा सिट बाडफाँट गरी गठबन्धनलाई व्यवहारिकरुपमा मजबुद र बलियो बनाउने सहमति भएको बैठकमा सहभागि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले बताए ।

यसअघि बुधबारको बैठकले पाँच दलले संयुक्त आमसभा गर्ने लगायतका निर्णय गरेका थिए । माओवादी केन्द्रका लुम्बिनी इञ्चार्ज चक्रपाणि खनाल, मुख्यमन्त्री कुल प्रसाद केसीसहितको बैठकमा नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनमगर, नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणी चौधरी, जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोकुमार यादव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी उपाध्यक्ष  बद्रे आलम सहभागी थिए ।


Author

थप समाचार
x