लुम्बिनी

दाङमा निर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन

इकागज |
बैशाख २५, २०७९ आइतबार १४:५३ बजे

फाइल फोटो

दाङ - आसन्न स्थानीय तह निर्वाचनलाई स्वस्थ्य, मर्यादित र भयरहित तवरले सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएको छ । निर्वाचनलाई मध्यनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार चुनावका लागि जिल्लाभर जनपद, म्यादी प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेना गरी कूल तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने अन्य सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ । मतदान केन्द्रको भित्री घेरामा जनपद र म्यादी प्रहरी सुरक्षाका लागि खटिने तथा बाहिरी घेरामा भने सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिने प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।


त्यस्तै निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गरी टोलटोलमा प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखिएको बताइएको छ भने निर्वाचन विशेष सुरक्षा योजना तयार गरी गस्ती बढाइएको छ । मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुनका लागि जिल्लाको सुरक्षाको व्यवस्था सुदृढ पारिएको सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

उनका अनुसार निर्वाचनलाई लक्षित गरी सुरक्षा समितिले सुरक्षा रणनीति तयार पारी लागू गरिसकेको बताए । उनले विगतका घटनाको विश्लेषण, भौगोलिक विकटता, मतदाता सङ्ख्या लगायतलाई मध्यनजर गरी सुरक्षा विश्लेषण गरी १३६ संवेदनशील, पाँच अतिसंवेदनशील र ११ सामान्य मतदानस्थल वर्गीकरण गरी सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएकोसमेत जानकारी दिए ।

त्यस्तै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी एउटा मतदान केन्द्रमा आठदेखि ३८ जनासम्म सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ रेग्मीले बताए । उनले भारतसँग सिमाना जोडिएका नाका क्षेत्रमा पनि उच्च सुरक्षा सतर्कता बढाएको जानकारी दिँदै मतदान दिनको ४८ घण्टा अगाडि नाकाबन्द गरिने बताए । “निर्वाचनअघि निर्वाचनको दिन र निर्वाचनपछिको सबै सुरक्षाको उचित प्रबन्ध मिलाइसकेका छौँ”, प्रजिअ रेग्मीले भने ।

निर्वाचनका लागि जिल्लामा तीन हजार ६६८ कर्मचारीलाई परिचालन गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । जिल्लामा कूल ४६१ मतदान केन्द्रका लागि उक्त सङ्ख्यामा कर्मचारी परिचालन गरिएका हुन् । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतका लागि प्रशिक्षण दिइ जिम्मेवारीसमेत बाँडफाँट गरिसकेको निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा खटिने ९५० मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई जिम्मेवारी दिइसकेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार एउटा मतदान केन्द्रमा मतदान अधिकृत एक जना, सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एक सहयोगी गरी पाँच सरकारी कर्मचारी र तीन स्वयंसेवक परिचालन गरिएको छ । जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र रहेका छन् । रासस


Author

थप समाचार
x