कर्णाली

कर्णालीमा एमालेको नेतृत्वमा सरकार बनाउने कसरत

‘शाहीले सांसद कँडेललाई मुख्यमन्त्रीमा प्रस्ताव गर्नुपर्छ’

लक्ष्मी भण्डारी |
चैत १६, २०७७ सोमबार १६:२३ बजे

सुर्खेत : कर्णाली प्रदेशमा नेकपा एमालेको माधवकुमार नेपाल समूहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गरेको समर्थन फिर्ता लिने संकेत देखिएको छ । समर्थन फिर्ता लिएर एमाले एक्लै सरकार बनाउने तयारीमा एमाले जुटेको हो । 

अघिल्लो महिना एमालेको संस्थापन पक्षले शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर पत्रसमेत बुझाइसकेको छ । तर, त्यसमा नेपाल पक्षधर सांसदहरू सहमत भएनन् । उनीहरू एमाले संसदीय दलको बैठकमा समेत उपस्थित भएनन् । पछिल्लो समय प्रदेशसभाका सांसद तथा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेपाल समूहका सांसदहरूसँग भेटघाट र छलफल गरिसकेपछि उनीहरू मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने संकेत देखिएको छ । 


सर्वाेच्च अदालतले साबिककै नेकपा एमाले र नेकपा माओवादी ब्युँताइदिएपछि एमालेको नेतृत्वमा सरकार गठन गर्ने कसरतमा सांसदहरू लागिपरेको प्रदेशसभा सांसद सुशिल थापाले बताए  । ‘सर्वोच्चको फैसलापछि अहिले सबै नेकपा एमाले एक ठाउँमा आएका छौं’ सांसद थापाले भने, ‘अब विगतका कमी–कमजोरी सुधार गर्दै अघि बढ्ने तयारीमा छौ ।’ 

केन्द्रमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले दलको तर्फबाट नेताहरूलाई स्पष्टीकरण सोधे पनि नेता कँडेलले कसैलाई कुनै एक्सन लिएका छैनन् । त्यसैले एक ठाउँमा आउन सहज वातावरण भएको सांसदको भनाइ छ ।

‘नेकपा एमालेका सांसद एक ठाउँमा उभिएर एमालेको नेतृत्वमा सरकार बनाउने सहमति भएको  सांसद थापाले बताए । अब दुई/तीन दिनमा दलको बैठक बसेर औपचारिक रूपमा निर्णय हुने उनले बताए । ‘मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रसस्त गर्दा राम्रो हुन्छ’ सांसद थापाले भने, ‘भोलि विश्वासको मत नभएर बर्खास्तमा पर्नु भन्दा राजीनामा दिनु उपयूक्त हुन्छ ।’ 

मुख्यमन्त्री शाहीले सांसद कँडेललाई मुख्यमन्त्रीमा प्रस्ताव गर्नुपर्ने सांसद थापाको भनाइ थियो । ‘मुख्यमन्त्री शाहीले आफूले राजीनामा दिएर सांसद यामलाल कँडेललाई मुख्यमन्त्रीको लागि प्रस्ताव गर्नुपर्छ’ थापाले भने ‘किनभने हिजोको दिनमा पनि कँडेलले शाहीलाई मुख्यमन्त्रीमा समर्थन गर्नुभएको हो । यामलाल कमरेड सबैलाई मिलाएर एमालेलाई एकताबद्ध बनाएर लैजाने पक्षमा भएकाले एमालेको नेतृत्वमा कर्णाली सरकार गठन हुन्छ ।' 

कर्णाली प्रदेहसभामा ४० सांसद छन् । ती मध्ये नेकपा एमालेका २० सांसद छन् । एमाले संसदीय दलमा सभामुख राजबहादुर शाहीबाहेक १९ जना छन् । उनीहरूमध्ये ओली पक्षमा १० र नेपाल पक्षमा ९ जना बाँडिएका थिए । यी दुवै पक्ष मिल्दा १९ जना पुग्नेछन् । यसका अलावा माओवादी केन्द्रबाट एमालेमा सांसद धर्मराज रेग्मी पनि आइसकेका छन् । रेग्मीलाई माओवादी केन्द्रले कारबाही गरेको खण्डमा एमालेको एक्लै सरकार बन्ने बाटो खुल्नेछ । अन्यथा एमालेले राप्रपालाई साथमा लिएर सरकार बनाउने विकल्प छ । कर्णाली प्रदेशसभामा राप्रपाको एक सिट छ ।

यता एमाले माधव समूहका सांसद अमरसिंह थापाले एमाले संसदीय दलको बैठकमा आफूहरू पनि सहभागी हुने बताए । तर, एमालेको नेतृत्वमा सरकार गठन हुने नहुने विषयमा बैठकमा छलफल हुने बताए ।


Author

थप समाचार
x