कर्णाली

छायानाथ राराका मेयर भन्छन्- पारिश्रमिकको रकमबाट बिरामी बोक्छु

इकागज |
जेठ ७, २०७९ शनिबार २०:४८ बजे

मुगु - जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले मष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरज्यूको भाकेर शुक्रबार पदभार ग्रहण गरेका छन् । 

नेपाली कांग्रेसबाट विजयी भएका नगर प्रमुख भामले मष्टो र अन्य देवताको घण्ट छोएर भ्रष्टचार नगर्ने, कमिसन नखाने र सेवाग्राहीलाई दुःख कष्ट नदिने भनेर घण्ट छोएर कसम खाएका हुन् । 


पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख भामले आफ्नो यो ५ वर्षे कार्यकालमा सेवाग्राहीलाई कुनै दुःख कष्ट नहोस् भन्दै देउताका नामका घण्ट छोएका थिए । 

उनले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने वाचा कसम पनि खाएका थिए । प्रसिद्ध देवताका २ वटा घण्ट समातेर पदभार सम्हाल्दैगर्दा नगरप्रमुख भाम भावुक पनि देखिएका थिए ।   

पारिश्रमिक नलिने 

जनप्रतिनिधिले पाउँदै आएको सेवा सुविधा उनले नलिने पनि घोषणा गरेका छन् । उनले २०७४ सालको स्थानीय चुनावमा वडा अध्यक्ष पदमा हुँदा कुनै पनि सेवा सुविधा लिएका थिएनन् । 

नगर प्रमुखले पाउने पाँच वर्षको पारिश्रमिक  बजेटबाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् । 

नगरका सम्पूर्ण बस्तीमा विद्युत् सेवा विस्तार गर्ने गमगढी बजारलाई स्वच्छ सफा राख्ने तथा नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउने भामले वाचा गरेका छन् ।


Author

थप समाचार
x