कर्णाली

कर्णाली प्रदेशसभा बैठक: परिणाममुखी बजेट ल्याउन सुझाव

इकागज |
जेठ १०, २०७९ मंगलबार १७:१३ बजे

फाइल फोटो

कर्णाली - कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन शुरु भएको छ । आज बसेको दशौँ अधिवेशनको पहिलो बैठकमा बोल्ने दलका नेताहरूले चालू आर्थिक वर्षका लागि परिणाममुखी बजेट ल्याउन सुझाव दिएका छन् । 

बैठकको प्रारम्भमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता यामलाल कँडेलले विगतको कमी कमजोरीबाट पाठ सिकेर बजेट ल्याउन आग्रह गरे । 


`विगतमा अध्यादेशबाट बजेट ल्याइयो, ससाना टुक्रे योजनाका लागि बजेट केन्द्रित गरियो`, उनले भने, `विकास गर्न नभई विकास खाने मानसिकताबाट बजेट ल्याउने प्रचलन रह्यो, यसपटक विगतका ती श्रृङ्खलाबाट पछि हटेर बजेट ल्याउँदा नै कर्णालीको हित हुनेछ ।` नेता कँडेलले सरकारले विगतका गल्ती सुधारेर परिणाममुखी बजेट ल्याएमा प्रतिपक्षी दल सहयोग गर्न तयार रहेको बताए । 

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक कृष्णा शाहले सङ्घीयताको पहिलो पाँच वर्षे कार्यकालको अन्तिम बजेट भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिए । 

संघीयतामा अनुभवको कमी, जनशक्ति अभाव, प्रदेशभित्रका आन्तरिक समस्याका कारण सोचे अनुरुप प्रदेश सरकारले काम गर्न नसकेको उनको भनाइ छ । `चार वर्षको अवधिमा केही सफलता पनि मिलेको छ, कतिपय काम अधुरै छन्`, उनले भने, `प्रदेश सरकारले केही नगरेको होइन, थुप्रै विकास निर्माणका कामहरू सम्पन्न भएका छन्, थुप्रै ऐन कानुन, कार्यविधिहरू बनेका छन्, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।`

नेपाली कांग्रेसका नेता दिनबन्धु श्रेष्ठले सत्तापक्ष–प्रतिपक्षबीच छलफल र सहकार्य गर्न कांग्रेस सधैँ तयार रहेको धारणा राखे । प्रतिपक्षीलाई विश्वासमा लिएर बजेट ल्याउन सरकारलाई सुझाव दिँदै श्रेष्ठले भने, `विगतका बजेट कार्यान्वयनमा देखिएका समस्यालाई केलाएर नयाँ बजेट ल्याऊँ ।`

राष्ट्रिय प्रजातन्त्र पार्टीका सोशिला शाहीले कर्णाली प्रदेशमा भ्रष्टाचार मौलाएको भन्दै नियन्त्रण गर्न प्रदेश सरकारले आवश्यक कदम चाल्नुपर्ने विचार व्यक्त गरिन् । प्रदेशसभाको अर्को बैठक भोलि (बुधबार) दिउँसो तीन बजे बस्नेछ । रासस


Author

थप समाचार
x