कर्णाली

कर्णालीमा एमालेले दिएको समर्थन फिर्ता, विश्वासको मत लिन मुख्यमन्त्रीलाई पत्र

इकागज |
चैत १८, २०७७ बुधबार ८:१७ बजे

सुर्खेत : कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ । एमाले झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले समेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

एमाले सांसदले समर्थन फिर्ता लिएको जानकारी गराउँदै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन पत्र लेखेका छन् । एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन चैत ४ गते नै फिर्ता लिएका थिए ।


संविधानको धारा १८८ को २ अनुसार सरकारमा रहेको दल विभाजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लिनुपर्छ । यसबारेमा प्रदेश प्रमुख कलौनीले पत्र नै लेखेर मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । अब प्रदेशसभामा बहुमत कायम राख्न मुख्यमन्त्री शाहीलाई चुनौति थपिएको छ । 

तत्कालिन नेकपा हुँदा कर्णाली र सुदुरपश्चिममा माओवादी केन्द्रले सरकार बनाउने सहमति थियो । बाँकी पाँच प्रदेशमा एमालेले सरकार बनाएको थियो । तर नेकपा फुटेसँगै तत्कालिन नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमति पनि तोडिएको छ ।

सहमति तोडिएसँगै कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको हो । यसअघि प्रधानमन्त्री ओलीको निर्देशनमा मुख्यमन्त्री शाहीविरुद्ध यामलाल कँडेलको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

तर त्यतिबेला खनाल-नेपाल समूहले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन कायम राखेका थिए । तर अहिले नेकपा विभाजन भएर माओवादी र एमाले बनेपछि दुवै दलले एक अर्कालाई दिएको साथ, सहयोग र समर्थन फिर्ता लिँदै आएका छन् ।

जसको असर कर्णाली प्रदेशमा पनि परेको हो । 


Author

थप समाचार
x