कर्णाली

विश्‍वासको मत लिने कसरतमा कर्णाली सरकार

लक्ष्मी भण्डारी |
चैत १८, २०७७ बुधबार १८:३८ बजे

सुर्खेत : माओवादी केन्द्रले कर्णाली प्रदेश सरकार जोगाउन अन्तिम प्रयास गरिरहेको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार जोगाउन माओवादी केन्द्रले अन्तिम प्रयास थालेको हो । 

एमालेको यही चैत ४ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमालेले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई अविश्वास फिर्ताको पत्र बुझाइएको छ । प्रदेश प्रमुखले सरकारलाई दुईपटक ध्यानाकर्षणपत्र पठाइसकेका छन् । यद्यपि, मुख्यमन्त्री शाहीले भने आफ्नो सरकार अझै बहुमतकै भएको दाबी गरिरहेका छन् ।


यता मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले कर्णाली सरकार विश्वासको मत लिने कसरतमा रहेको बताए । उनले अझै पनि कर्णाली सरकार बहुमतमा रहेको दाबी गरे । 

‘हामी विश्वासको मत लिने कसरतमा लागिपरेका छौ’ शर्माले भने, ‘एमालेको कपी ओली पक्षले सर्मथन फिर्ता लिए पनि माधव पक्षको समर्थन रहेको छ ।’
एमालेको माधव नेपाल समूहका नौ जना र नेकपा माओवादी केन्द्रका १३ जना गरी २२ जना सांसदको सर्मथन कायमै रहेको उनको भनाइ छ । ‘माधव पक्षका सांसदहरूले एमालेको संसदीय दलको बैठकबाट समर्थन फिर्ता लिएपछि मात्र आधिकारिक हुन्छ’ उनले भने, ‘अहिले संसदीय दलको बैठकबाट समर्थन फिर्ता लिएका होइनन् ।’

यता माधव पक्षका सांसद शुसिल थापाले एमाले सबैले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको र एमालेको नेतृत्वमा सरकार बनाउने तयारीमा रहेको बताए । कर्णाली प्रदेश सभामा ४० सांसद छन् । तीमध्ये एमालेका २०, माओवादीका १३, काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । माओवादी केन्द्रबाट संसद रहेका धर्मराज रेग्मी एमालेमा प्रवेश गरिसकेका छन् ।


Author

थप समाचार
x