कर्णाली

सत्ता सकस

कर्णालीमा माओवादीको सरकार ढाल्ने एमालेको योजना कहाँ पुग्यो ?

२२ गते संसदीय दलको बैठकको प्रतिक्षा !

लक्ष्मी भण्डारी |
चैत १९, २०७७ बिहीबार १३:० बजे

सुर्खेत : कर्णालीमा नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले प्रदेश कमिटी सदस्य राजु नेपालीका अनुसार आउँदो चैत्र २२ गते दिउँसो संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा पार्टीको सबै सांसदलाई एकजुट बनाएर अघि बढ्ने विषयमा छलफल केन्द्रत हुनेछ । ‘संसदीय दलको बैठकमा सबैलाई सहभागी गराएर छलफलमा जान्छौ’ उनले भनिन्, ‘त्यसमा सरकार गठनका विषयमा पनि छलफल र बहस हुन सक्छ ।’

गएको चैत्र ४ गते एमाले ओली पक्षधर १० जना सांसदहरुको उपस्थितिमा संसदीय दलको बैठक बसेको थियो । जसलाई माधव नेपाल पक्षधरले विरोध गरेको थियो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय बैठकले गरेको थियो । 


यद्यपी, सुरुमा माधव नेपाल पक्षधरले समर्थन कायम रहेको बताएपनि संसदीय दलका नेता यामलाल कँडेलको अथक प्रयासपछि एमालेहरू एक ढिक्कामा बाँधिएको सांसद सुशिल थापाले जानकारी बताए । ‘एमालेका सांसदहरु एक ढिक्का भएका छौ र अब हाम्रो नेतृत्वमा सरकार बन्छ’ सांसद थापाले भने, ‘अब हामीहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन ।’ एमालेका सांसदहरु एकजुट भएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनको भनाइ छ ।

यसअघि मंगलबार पनि प्रदेश प्रमुखले मुख्यमन्त्री शाही अल्पमतमा परेको संकेत गर्दै ध्यानाकर्षण पत्र पठाएका छन् । त्यस्तै २२ गते बोलाएको संसदीय दलको बैठकमा सबै सांसदलाई उपस्थित हुने एमाले सांसदहरुले बताएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका सांसद गुलाबजङ्ग शाहले २२ गतेको बैठक दलको नियमित बैठक भएको जानकारी दिए । ‘एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ’ उनले भने ‘अब मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुपर्छ ।’

पार्टीका आन्तरिक विषयमा पनि बैठकमा छलफल गरिने शाहको भनाइ छ । प्रदेशसभामा सभामुखसहित एमालेका २० जना सांसद रहेका छन् । राप्रपाका एकजना सांसदलाई पनि लिएर सरकार गठनका लागि अघि बढ्ने सक्ने देखिएको छ । 

यता कर्णाली प्रदेश सरकार बचाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले आफुहरु बहुमतमा रहेको भन्दै विश्वासको मत लिएर अघि बढ्ने दाबी गरे । 

कर्णाली प्रदेशसभामा अहिले जम्मा ४० जना सांसद छन् । त्यसमध्य सबैभन्दा धेरै एमालेका २० जना सांसद छन् । यसैगरी माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका तर्फबाट एक जना सांसद छन् । एमालेले समर्थन फिर्ता लिनेबित्तिकै मुख्यमन्त्री शाहीको सरकार अल्मपतमा परिसकेको छ ।

उनले यसबीचमा थप राजनीतिक गृहकार्य गर्न नसके प्रदेशसभामा बहुमत गुमाउन सक्छन् । सोही कारण पनि माओवादी केन्द्रको सरकार ढाल्ने एमाले ओली पक्षको निर्णय यतिबेला कार्यान्वयनको नजिक पुगेको छ । यद्यपी यसमा माधव नेपाल पक्षका सांसदको मत निर्णायक हुन्छ ।

एमालेबाट कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल मुख्यमन्त्रीका आकांक्षी हुन् । यसअघि उनले दर्ता गरेको अविश्वास प्रस्तावमा पनि नयाँ मुख्यमन्त्रीमा कँडेलको नाम प्रस्ताव गरिएको थियो ।


Author

थप समाचार
x