कर्णाली

वीरेन्द्रनगर नगरपालिकालाई सिटी बसपार्कको भाडा रकम उठाउन हम्मे हम्मे

इकागज |
जेठ ३१, २०७९ मंगलबार २०:४४ बजे

सुर्खेत - वीरेन्द्रनगर नगर कार्यपालिकाको पहिलो बैठकले लामो समयदेखि नउठेको सिटी बसपार्कको राजस्व रकम असुल्ने निर्णय गरेको छ ।  नगरपालिकालाई बसपार्कको भाडा रकम उठाउन हम्मे हम्मे परेपछि जेठ २३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । गत चैतसम्म नगरपालिकाले भक्तपुरको पिआर कन्स्ट्रक्सनलाई १० पटक जति भुक्तानी गर्न पत्राचार पनि गरेको थियो । तर कन्स्ट्रक्सनको तर्फबाट नगरपालिकालाई चित्तबुझ्दो जवाफ भने आएन । गत वर्षको भदौ यताको भाडा कन्स्ट्रक्सनले नगरपालिकालाई तिर्न बाँकी छ । 

०७७ फागुनसम्म वीरेन्द्रनगर नगरपालिकाले २६ करोड रुपैयाँ उठाउन बाँकी थियो । निर्माण सुरू भएको करिब ९ वर्षपछि सञ्चालनमा आएको सुर्खेत सिटी बसपार्कबाट भाडा असुल्न हम्मे भइरहेको नगरपालिकालाई त्यसबेलासम्म बसपार्क सञ्चालनको जिम्मा लिएको पिआर कन्स्ट्रक्सनले जरिवानासहितको २६ करोड रुपैयाँ दिन बाँकी थियो । ‘सिटी बसपार्क र सोमा बनेका संरचना प्रयोग गर्नेगरी आय ठेक्का सम्झौता भएको दोस्रो पक्षले सम्झौतामा उल्लेख भएबमोजिम राजस्व भुक्तानी नगरी ठूलो परिमाणमा हर्जाना बढ्दै गएकोले उक्त रकम असुलउपर गर्नका लागि दोस्रो पक्षलाई अन्तिम पटक ताकेता गर्ने,’ कार्यपालिकाको पहिलो निर्णयमा उल्लेख रहेको छ ।


नगरपालिकाले ठेकेदार कम्पनीका नाममा पत्र पठाइसकेको छ । निर्माण कम्पनीले पनि जेठ १७ गते नगरपालिकालाई एउटा निवेदन दिएको छ । निर्माण कम्पनीले दिएको उक्त निवेदनमा दैनिक १० लाख रुपैयाँ बराबर हुन आउने जरिवाना रकम तिर्न नसकिने निवेदनमा उल्लेख गरेको छ । नगरपालिका र कम्पनीबीच भएको सम्झौताअनुसार मासिक भाडा अर्को महिनाको १५ गतेसम्ममा नबुझाए १ प्रतिशत जरिवाना लाग्छ । त्यसैगरी एक महिना नाघे २ प्रतिशत र दुई महिना नाघे ५ प्रतिशत जरिवाना लाग्छ । यो जरिवाना दैनिक हिसाब हुने प्रावधान छ । अहिले कम्पनीको नाममा कुल बक्यौता रकमको ५ प्रतिशत जरिवाना दैनिक थपिँदै गएको छ ।

सम्झौताअनुसार पिआर कन्स्ट्रक्सनले मासिक ३१ लाख १५ हजार ५३२ रुपैयाँ नगरपालिकालाई तिर्नुपर्छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीका अनुसार यस हिसाबले अहिले दैनिक जरिवाना रकम मात्र बढ्दै गएको छ । कुनै पनि तरिकाबाट जसरी हुन्छ छिटो बसपार्कको भाडा अब असुल गर्नुपर्ने तिवारी बताउँछन् । 

नगरपालिकाले लामो समयदेखि नउठेको सिटी बसपार्कको भाडा उठाउने विषयमा निर्णयमात्र गरेको छ, कसरी असुल उपर गर्ने भन्नेबारेमा भने निर्णय गरिसकेको छैन । यदि नगरपालिका र कम्पनीबीच भएको सम्झौता अनुसारको जरिवाना रकम नियमित जोडेर लिने हो भने करिब ३५ करोड रुपैयाँ सञ्चालक कम्पनीबाट असुल गर्नुपर्छ । यदि जरिवाना रकम मिनाहा गर्ने हो भने ३ करोड ७७ लाख ८९ हजार रुपैयाँ बक्यौता मात्र जेठ मसान्तसम्मको असुल गर्नुपर्छ ।

जरिवाना रकम मिनाहा गर्ने विषयमा नगरपालिकाले आधिकारिक रूपमा निर्णय लिन सकेको छैन । कम्पनीको मागअनुसार जरिवानालाई संशोधन गर्ने विषयमा अहिले कार्यपालिकामा कुनै छलफल नचलेको नगरपमुख मोहनमाया भण्डारीले जानकारी दिइन्  । पिआर कन्स्ट्रक्सनले कोभिडका कारण बसपार्क नचलेकोले २०७७ मै भाडामा छुट मागेको थियो । नगरपालिकाले पछिल्लो लकडाउन अवधिको भाडा सतप्रतिशत छुट गर्ने निर्णय पनि गरेको थियो ।

गत वर्ष वैशाख १५ गतेदेखि लकडाउन भएको थियो । वैशाख १५ देखि साउन १५ सम्मको भाडा छुट दिने निर्णय कार्यपालिकाले नै गरेको थियो । 


 


Author

थप समाचार
x