कर्णाली

‘विश्वविद्यालयलाई राजनीतिक अखडा बनाइनु हुँदैन’

इकागज |
असार ३, २०७९ शुक्रबार १५:३७ बजे

फाइल फोटो

कर्णाली - कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन नहुने बताएका छन् ।  मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको १२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय विशुद्ध अनुसन्धानमूलक र प्राज्ञिक बन्नुपर्छ भने ।  

सभामुख शाहीले प्राध्यापक, कर्मचारी र विद्यार्थी राजनीतिक गतिविधिमा बढी केन्द्रित हुने गरेकाले विश्वविद्यालयको विश्वसनीयता गुम्न पुगेको विचार व्यक्त गरे ।  


`विश्वविद्यालय पढाउने, अनुसन्धान गर्ने थलो हो, राजनीति गर्ने र राजनीतिक प्रयोगशाला बन्ने थलोका रुपमा पहिचान बनाउनु हुँदैन`, उनले भने, `नेपालका विश्वविद्यालयमाथि अविश्वास बढ्दै गएको छ, अब सुधार गरेर गुमेको विश्वास फर्काउनुपर्छ ।` विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने केन्द्र बन्न नहुने धारणा राख्दै उनले नेपाली युवा विद्यार्थी उच्च शिक्षा पढ्न विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य विश्वविद्यालयले नै गर्नुपर्ने सुझाव दिए । 

सभामुख शाहीले कर्णालीको बेरोजगारी समस्या हटाउन मध्यपश्चिम विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले भने, `विश्वविद्यालयलाई प्रविधिमैत्री बनाई विश्वको आवश्यकताअनुसार समयसापेक्ष परिवर्तन भई काम गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन जरुरी छ ।` 

उत्पादित शैक्षिक जनशक्तिलाई कसरी रोजगारीमा जोड्न सकिन्छ भन्नेतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
 
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालयले विगतका कमीकमजोरीबाट पाठ सिकेर अघि बढेको बताए । `स्थापनाकालदेखि विभिन्न आरोह अवरोह पार गर्दै आए पनि पछिल्ला केही वर्षयता राजनीतिक खिचातानी रोकिएको छ, राम्रो काम गर्नेलाई जुनसुकै आस्था र विचारको भए पनि प्रोत्साहन गर्ने काम भएको छ`, उपकुलपति सिंहले भने, `विश्वविद्यालयबाट कर्णालीका लागि मात्र नभई विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा गर्ने प्रयत्नमा छौँ, विश्वमा बढी बोलिने विभिन्न छ वटा भाषामा पढ्ने व्यवस्था मिलाएका छौँ ।`

सुर्खेतमा केन्द्रीय कार्यालय भई २०६७ साल असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा छ संकाय, सात केन्द्रीय र १० आङ्गिक क्याम्पस छन् । सुर्खेत सभाहलमा आयोजित वार्षिकोत्सवमा समारोहमा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा भारती जोशी, विश्वविद्यालयका रजिष्ट्रार डा नारायण पौडेल, विभिन्न संकायका डिनहरु, अनुसन्धान निर्देशक, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता थियो । रासस


Author

थप समाचार
x