झुण्डिएको अवस्थामा भेटिए दुई दिदी-बहिनी
सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिका-६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदिबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । १४ र १५ वर्षीय दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
घर्तीकाअनुसार शुक्रबार बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका उनीहरूलाई त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया बालिका कक्षा ८ मा पढ्दै आएका छन् । उनीहरू दुवै जना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।
‘दुईजना बालिकाहरू आफ्नो सानीआमा (आमाको बहीनी) कमला बादीको घरमा बसेर पढ्दै आएका रहेछन्’ घर्तीले भने, ‘बिहान घाँस काट्न भनेर जंगल गएका उनीहरूलाई झुण्डिएको अवस्थामा स्थानीयहरूले देखेका रहेछन् ।’ स्थानीयले दुई बालिकालाई झुण्डिएको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमको लागि प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया