कर्णाली

कर्णालीका पत्रकारलाई विपद् व्यवस्थापन तालिम

इकागज |
असार २२, २०७९ बुधबार १६:११ बजे

सुर्खेत- कर्णालीका पत्रकारहरूलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । विपद्को समयमा प्रभावकारी ढंगले रिपोर्टिङ गर्नुका साथै सुरक्षित भएर समाचार संकलनमा लाग्‍न सहज होस् भन्‍ने उद्देश्यले उक्त तालिम प्रदान नगरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा युरोपियन युनियनको आर्थिक तथा युएनडिपीको प्राविधिक सहयोगमा सञ्चालित सुर परियोजना र संसद सहयोग परियोजनाको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।


विपद् जोखिममा कर्णाली प्रदेशको अवस्था, भावी रणनीति, विपद् व्यवस्थापनबाट हुने क्षति, मौसम  पूर्वानुमान र भूकम्प सम्बन्धी जानकारी गराइएको थियो । त्यसैगरी विपद् जोखिममा प्रदेशसभाका सदस्यहरूलाई नीति कानुन निर्माण, अनुगमन र बजेट विनियोजन पैरवी गर्न पत्रकारको भूमिकाका विषयमा छलफल गरिएको थियो । 
कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् व्यवस्थापनको समयमा पत्रकारको महत्वपूर्ण भूमिका रहने औल्याउँदै यसमा सक्रिय भएर लाग्‍न आग्रह गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेश सागर भुषालले विपद् व्यवस्थापनको यस कार्यक्रमलाई पालिका स्तरसम्म लानुपर्नेमा जोड दिए । भुषालले कर्णालीमा सूचनाका क्षेत्रमा, विपद्को क्षेत्र र कानुनको ग्यापको विषयलाई जोड दिएर अगाडि बढ्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्मा विट पत्रकारिताको विकास नभएको अवस्थामा विपद् व्यवस्थापनको तालिमहरू प्रभावकारी हुनु जरूरी रहेको जिकिर गर्छन् । पत्रकार लक्षित कार्यक्रममा आम पत्रकारिताको सहभागितामा सञ्चालन हुन आवश्यक रहेको उनकाे भनाइ छ । 

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटाले विपद् व्यवस्थापनको कार्यक्रमका लागि कार्ययोजना समेत बनाइएको बताए ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको सहकार्यमा भएको उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो । तालिममा कर्णालीका सात जिल्लाका ३० जना पत्रकारको सहभागिता रहेको थियो । 


Author

थप समाचार
x