लामो समयदखि अवरूद्ध प्रदेश सभाको बैठक भोलि
सुर्खेत- लामो समयसम्म अवरूद्ध कर्णाली प्रदेश सभाको बैठक बिहीबार (भोलि) बस्ने भएको छ । प्रदेश सभाको असार १२ गतेदेखि स्थगित बैठक भोलि बस्ने भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असार १२ गते बसेको कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको १८ औँ प्रदेश सभा बैठक अवरोध गरे यता सदन स्थगित हुँदै आएको छ ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा असन्तुष्टि जनाएको एमालेले सत्तापक्षसँग यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै विरोध जनाएको छ ।
प्रतिपक्षी दलले यसअघि भएको ७ बुँदे माग अघि सारेको छ । उक्त सात बुँदे माग पूरा नगरेको भन्दै प्रदेशसभा बैठक अवरूद्ध गर्दै आएको छ । सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक-पटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन ।
सभामुख राजबहादुर शाहीले भोलि बिहान सर्वदलीय बैठक बस्ने र दिउँसो एक बजे प्रदेश सभाको बैठक बोलाइएको जानकारी दिए । ‘भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । उक्त बैठक बस्नु अघि सर्वदलीय बैठक बस्छ,’ सभामुख शाहीले भने, ‘हेरौँ अब बैठक बसेपछि सहमति असहमति के हुन्छ ।’
यता प्रमुख प्रतिपक्षी दल एमाले भने सहमति जुट्नेमा विश्वस्त हुन सकेको छैन । सांसद सुशिल थापाले भोलिका लागि बैठक आह्वान भएता पनि सहमति जुट्न भने मुस्किल रहेको बताउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया