सर्वदलीय बैठक टुंगोमा पुगेन, प्रदेश सभाको बैठक भोलिलाई सारियो
सुर्खेत- झण्डै दुई सातादेखि अवरूद्ध रहेको कर्णाली प्रदेश सभाको बैठक आज पनि स्थगित भएको छ । विवाद समाधानको लागि आज बसेको सर्वदलीय बैठक निष्कर्षमा नपुगेका कारण आज बस्ने भनिएको कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको हो ।
प्रदेश सभाको बैठक आज दिउँसो एक बजे सञ्चालन गर्ने तय भएको थियो । तर, सर्वदलीय बैठक टुंगोमा नपुगेका कारण भोलि बिहान साढे आठ बजे सर्वदलीय बैठक बस्ने सभामुख राजबादुर शाहीले बताए । ‘आज बसेको सर्वदलीय बैठकको छलफल सकारात्मक उन्मुख तर्फ गएको छ, आज बसेको बैठकमा छलफल निष्कर्षमा पुग्न नसकेका कारण भोलि बिहान फेरि सर्वदलीय बैठक बस्न लागिएको छ,’ सभामुख शाहीले भने, ‘भोलि बिहान सर्वदलीय बैठक बस्छ र दिउँसो प्रदेश सभा बैठक बोलाइएको छ ।’
प्रतिपक्षी सांसद सुशिल थापाले आजको छलफल सकारात्मक तर्फ अघि बढेकाले भोलि बिहान बस्ने सर्वदलीय बैठक निष्कर्षमा जान सक्ने बताए । ‘सरकारले पनि आफूले गल्ती गरेको बोध गरेको छ,’ सांसद थापाले भने, ‘सायद भोलि बिहानको बैठकबाट केही निष्कर्षमा पुग्न सक्छ ।’
प्रदेश सभाको बैठक लामो समयदेखि अवरूद्ध रहेको छ । असार १२ गतेदेखि यता बैठक बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असार १२ गते बसेको कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको १८ औँ प्रदेश सभा बैठक अवरोध गरेयता सदन स्थगित हुँदै आएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा असन्तुष्टि जनाएको एमालेले सत्तापक्षसँग यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै विरोध जनाएको छ ।
प्रतिपक्षी दलले गएको माघ महिनामा भएको ७ बुँदे माग अघि सारेको छ । उक्त सात बुँदे माग पूरा नगरेको भन्दै प्रदेश सभा बैठक अवरूद्ध गर्दै आएको छ । आफ्ना माग पूरा नभए पुनः बैठक अवरोध गर्ने प्रतिपक्षी दलले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया