कर्णाली

यातायात कार्यालयमा मन्त्रीको छड्के अनुगमन

इकागज |
असार २३, २०७९ बिहीबार १९:१० बजे

सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले सुर्खेतस्थित यातायात कार्यालयमा छड्के अनुगमन गरेका छन् । बिहीबार मन्त्रालयकोे टिम लिएर यातायात कार्यालय पुगेका मन्त्री रोकायाले सेवाग्राहीसंग सेवाको गुणस्तर र भोग्नु परेको समस्याबारे जानकारी लिएका थिए ।

मन्त्री रोकाया यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति थियो । मन्त्री रोकाया आफै विभिन्न फाँटमा पुगेर निरीक्षण गर्दा कार्यालयका कतिपय फाँटमा काम गर्ने कर्मचारी पनि भेटिएनन् । निरीक्षणको क्रममा दुई जना कर्मचारी आफूखुसी बिदामा बसेको पाइयो भने कर्मचारीहरु सरकारी पोशाक र परिचयपत्र नलगाई कार्यालय आउने गरेको पाइयो । सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा पनि मन्त्री रोकायाले जानकारी लिए । उनले सेवाग्राहीसँग पनि समस्याबारे जानकारी लिएका थिए ।


मन्त्री रोकायाले जनभावना बुझेर सेवा दिन कर्मचारीलाई निर्देशनसमेत दिए । सेवाप्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको बताउँदै सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । मन्त्री रोकायाले यातायात कार्यालय प्रदेश सरकारसंग जोडिएको निकाय भएकोले पनि यसको विषयमा हुने गरेको टिकाटिप्पणीको अन्त्य हुनुपर्नेमा जोड दिए ।

यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले सेवाग्रहीको चाप अत्यधिक हुने गरेको तर आफूहरुले सकेसम्म छिटो र छरितो ढंगको सेवा दिने प्रयास गरेको बताए । उनले कार्यालयभित्र दलालहरुलाई प्रवेशमा रोक लगाइएको मन्त्री रोकायालाई जानकारी समेत गराए । 
 


Author

थप समाचार
x